चार बैंकमा सीईओ रिक्त, नियुक्तिमा किन ढिलाइ ? – Nepal Press

चार बैंकमा सीईओ रिक्त, नियुक्तिमा किन ढिलाइ ?

काठमाडौं । चार वाणिज्य बैंकमा लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ रिक्त छ । कुमारी, सेन्चुरी कमर्सियल, सिद्धार्थ र बैंक अफ काठमाण्डू लामो समयदेखि सीईओ नियुक्त हुन नसकेका हुन् ।

यी बैंकहरू अहिले कामु सीईओकै भरमा चलेका छन् । सीईओ तुलसीराम गौतमले छाडेपछि सेन्चुरी बैंकमा मनोज न्यापौनेले निमित्त सीईओको जिम्मेवारी सम्हालेका छन् । गौतमले कार्यकाल बाँकी रहँदै असार २७ राजीनामा दिएका थिए ।

कुमारी बैंकका सीईओ सुरेन्द्र भण्डारी असार ३१ बाट बिदा भएपछि त्यहाँ अनुज तिमिल्सेनाले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् । सिद्धार्थ बैंकबाट सीईओबाट साउन १८ गते बिदा भएका शम्भु गौतमको स्थानमा सुन्दरप्रसाद कँडेल निमित्तको भूमिकामा छन् । त्यस्तै बैंक अफ काठमाण्डूबाट अवकास पाएका सीईओ शोभनदेव पन्तको स्थानमा श्रवण मास्के निमित्त छन् ।

यसका अतिरिक्त सानिमा, नविल र मेघा बैंकका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पनि सकिन लाग्दैछ । २ कार्यकाल पूरा गरेर सानिमा बैंकका सीईओ भुवन दाहाल आगामी कात्तिक २७ गते सकिँदैछ । सानिमामा २ कार्यकाल सकेर दाहाल बिदा हुन लागेका हुन् ।

यसैगरी नविल बैंकका सीईओ अनिलकेशरी शाहको कार्यकाल आउँदो असार ७ मा सकिँदैछ । उनलाई १ कार्यकाल म्याद थपको सम्भावना उच्च रहेको स्रोतले बताएको छ । मेघा बैंककी सीईओ अनुपमा खुँजेलीको पहिलो कार्यकाल पूरा हुन केही समयमात्रै बाँकी छ । उनी २०७४ मंसिर २५ गते प्रमुख कार्यवहाक प्रमुख कार्यकारी अधिकृतबाट सीईओमा नियुक्ति भएकी थिइन् ।

नेपाल राष्ट्र बैंकको नियमनुसार एकै बैंकमा दुई कार्यकाल भन्दा बढी एकै सीईओले दोहोरिन पाउँदैनन् । यद्यपि उमेरहद ननाघेकाहरू एक कार्यकाल फरक बैंकमा काम गरेर पहिलेकै बैंकको जिम्मेवारीमा  फर्कन सक्छन् ।

सीईओ अभावमा निमित्तले ३ महिनासम्म वाणिज्य बैंकहरू सञ्चालन गर्न पाउने भएकाले पनि पदपूर्तिमा संचालकहरू चासो नदिरहेको बताइएको छ । ३ महिनासम्म सीईओको खर्च कटौती, सम्भावित मर्जरलगायतका कारण पनि सीईओ नियुक्तिमा ढिलाइ हुने गरेको जानकारीहरू बताउँछन् ।

अहिले बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकको मर्जर चर्चा चलिरहेको छ । तर, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसमा केही छलफल नभएको बताइसकेका छन् । सेन्चुरी नविल बैंकको मर्जर चर्चा पनि उत्तिकै छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जमा जाने बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *