राष्ट्रपतिसँग नायिका सुरक्षाको भेट : लुम्बिनी बगैंचा बनाउनेबारे सुनाइन् योजना – Nepal Press

राष्ट्रपतिसँग नायिका सुरक्षाको भेट : लुम्बिनी बगैंचा बनाउनेबारे सुनाइन् योजना

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फिल्मसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनी पेशाले इन्जिनियर पनि हुन् । अभिनयसँगै इन्जिनियरिङमा पनि उनको व्यस्तता बढ्दो छ ।

उनी लुम्बिनी गार्डेन फाउन्डेसनकी इनहाउस-इन्जिनियर पनि हुन् । यो सामाजिक संस्थाले १० अर्ब लागतमा स्पेनको एक्सत्रेमादुरामा लुम्बिनी बगैंचा निर्माण गर्दैछ ।

यही योजनाबारे जानकारी दिलाउन सुरक्षासहितका फाउन्डेसनका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शीतल निवासमा आयोजित भेटमा उनीहरुले फाउन्डेसनको योजनाबारे राष्ट्रपतिलाई जानकारी गराए ।

राष्ट्रपति भण्डारीले पनि लुम्बिनी गार्डेन निर्माणबारे चासो व्यक्त गरेकी थिइन् । राष्ट्रपतिसँग भेटपछि सुरक्षाले सकारात्मक ऊर्जा प्राप्त भएको बताएकी छिन् ।

स्पेनमा बनाउन लागिएको उक्त बगैंचाको समग्र इन्जिनियरिङ र प्राविधिक पाटोमा अहिले सुरक्षाले काम गरिरहेकी छिन् । ‘नेपालीपन झल्कने, मौलिक पहिचान दिलाउने ढंगले सुपरिवेक्षणको काम गरिरहेकी छु’ सुरक्षाले नेपाल प्रेसलाई भनिन् ।

सुरक्षाले यसैमहीना ‘ग्रीन बर्ड’ नामक फिल्ममा काम गरेकी छिन् । उनी चाँडै अर्को एक अनटाइटल प्रोजेक्टमा व्यस्त हुने भएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *