मोबाइल बजार: छैन चाडपर्वलक्षित अफर, उपभोक्ताको माग पूर्ति गर्नै वितरकलाई धौधौ – Nepal Press

मोबाइल बजार: छैन चाडपर्वलक्षित अफर, उपभोक्ताको माग पूर्ति गर्नै वितरकलाई धौधौ

काठमाडौं । कोरोना कहरका कारण विश्व बजारमा पर्याप्त मोबाइल सेट उत्पादन नहुँदा नेपालमा मोबाइल सेटको अभाव भएको छ । नेपालमा विद्यार्थीलाई अनलाइनमार्फत् अध्यापन गराउन बढी प्रयोग भएका कारण पनि बजारमा मोबाइल सेट अभाव भएको वितरकहरुले बताएका छन् ।

कोरोना कहरकै कारण मोबाइल सेट आयातसमेत प्रभावित भएको मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मलहोत्राले बताए ।

मोबाइलमा प्रयोग हुने चिप्स गाडीलगायत अन्य विद्युतीय सामग्रीमा बढी प्रयोग भएका कारण पनि नेपाली बजारमा मोबाइल सेट अभाव भएको बलहोत्राले बताए । उक्त चिप्स ताइवान, कोरिया र अमेरिकालगायतका देशमा बन्ने गरेको थियो ।

कोरोना कहरका बेला अनलाइन कक्षामा लिनका लागि मोबाइल फोनको ज्यादा प्रयोग भएको थियो । कक्षा लिनका लागि एकजना विद्यार्थीलाई एक सेट अनिवार्य भएपछि मोबाइल सेटको माग ह्वात्तै बढेको थियो ।

कोरोनाको समयमा प्रत्येक घरमा १ देखि ३ वटासम्म नयाँ मोबाइल फोन खरिद् भएको मोबाइल आयातकर्ताहरु बताउँछन् । नेपाली बजारमा १५ देखि ३५ हजार रुपैयाँसम्मको फोनको माग भएको थियो । अहिले पनि त्यहीं मूल्य बराबरका मोबाइलको माग अधिक छ ।

अघिल्ला वर्षहरुमा दसैं तिहार जस्ता ठूला चाडपर्वमा मोबाइल बिक्रेता कम्पनीहरुले विभिन्न अफर तथा स्किम ल्याउने गरेका थिए । तर यस वर्षको भने सेटकै अभाव भएका कारण कम्पनीहरुले खासै लोभलाग्दो अफर ल्याउन सकेका छैनन् ।

नेपालमा धेरै माग भएको सामसुङ, भिभो, एमआई र ओप्पोलगायतका मोबाइल फोन आयात तथा बिक्री गर्न नसकिएको बिक्रेताहरु बताउँछन् ।

मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले पनि नेपालमा पछिल्लो समय मोबाइल फोनको अभाव भएको बताए ।
साउदले भने, ‘पहिला स्टक पनि हुन्थ्यो, अहिले बजारको माग नै पुर्याउन सकिएको छैन ।’ उनका अनुसार अहिले मोबाइल बिक्रीका लागि चाडपर्वलक्षित स्किम ल्याउनुपर्ने आवश्यकता नै छैन ।

मोबाइल फोन आयात घटेको भन्दा पनि बजारमा माग बढी भएको साउदको भनाइ छ । भन्सार विभागको तथ्यांङअनुसार २०७७ साल भदौमा ३ अर्ब ६७ करोड ७४ लाखको ५ लाख २४ हजार ८ सय ७९ मोबाइल फोन आयात भएको थियो ।

२०७८ सालको भदौमा ५ अर्ब ५३ करोड ६७ लाखको ८ लाख ३१ हजार २ सय ४७ वटा मोबाइल फोन आयात भएको छ । तर नेपाली बजारमा माग बढेकाले बजारमा अभाव भएको साउदको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *