२० महिनापछि मैदानमा फर्किँदै फिल जोन्स
काठमाडौं । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक फिल जोन्स २० महिनापछि मैदानमा फर्किन तयार भएका छन् । सन् २०२० को जनवरीमा एफए कपको चौथो चरण खेलेयता जोन्सले शीर्ष टोलीबाट खेलेका छैनन् ।
त्यसयता, २९ वर्षीया जोन्स घुँडामा लागेको चोटसँग लडिरहेका छन् । १३ महिनाअघि उनले घुँडाको शैल्यक्रिया गराएका थिए ।
‘म फिलका लागि खुशी छु,’ म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘उनले यु-२३ टोलीमा पूरा ९० मिनेट खेलेका थिए । उनको घुँडामा केही प्रभाव परेन । उनी एकदमै मेहेनत गरिरहेका छन् ।’
जोन्सले यु-२३ मा आर्सनलविरुद्ध सेप्टेम्बर ११ मा खेलेका थिए । त्यसको सात दिनपछि ब्राइटनविरुद्ध पनि खेलेका थिए ।
सोल्सायरले आज राति हुने ईएफएल कपअन्तर्गत वेस्ट ह्यामविरुद्धको खेलमा जिसे लिङ्गार्डले पनि सुरुआती ११ मा मौका पाउने बताएका छन् । युनाइेटले चार दिनमा दोस्रो पटक वेस्ट ह्यामसँग खेल्दै छ ।