आफ्नै निर्देशनको फिल्ममा छोरा सिद्धार्थलाई डेब्यु गराउँदै युवराज लामा – Nepal Press

आफ्नै निर्देशनको फिल्ममा छोरा सिद्धार्थलाई डेब्यु गराउँदै युवराज लामा

काठमाडौं । नेपाली फिल्मको पछिल्लो पुस्तामा पनि लिगेसीको परम्पराले निरन्तरता पाउने क्रम जारी छ । यो मेसोमा थपिएका छन् पाका फिल्मकर्मी युवराज लामा । सन् २००३ को फिल्म ‘धर्मात्मा’पछि टाढिएका फिल्म निर्माता तथा निर्देशक लामा डेढ दशकपछि कमब्याक तयारीमा छन् । आफ्नै निर्माण तथा निर्देशनमा चैतपछि सुटिङ सुरु हुने फिल्ममार्फत छोरा सिद्धार्थलाई नायकमा डेब्यु गराउने तयारीमा उनी छन् ।

अहिले पटकथा लेखनमा काम भैरहेको र दशैंपछि वर्कसप सुरु गर्ने युवराजको तयारी छ । यही फिल्ममार्फत छोरा सिद्धार्थलाई एक्टिङ करियरमा अघि बढाउने युवराजले योजना बुनेका छन् ।

युवराजका कान्छा छोरा नेपाली फिल्मलाई नयाँ भएपनि अभिनयमा भने अनुभवी हुन् । भारतको मलायलम फिल्ममा उनले अभिनय गरिसकेका छन् । उनले मलायलम उद्योगका सुपरस्टार मोहनलालसँँग फिल्म ‘योद्धा’ मा सिद्धार्थले एकसाथ स्क्रिन सेयर गरिसकेका छन् ।

अर्को मलायलम फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।

लामाले छोराको नेपाली फिल्म डेब्युबारे भने, ‘सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा जुन पहिचान बनाएको छ, त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने मेरो सोच हो । किनकि, उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्छ । अनि, युवराज लामाको लिगेसी धान्ने पनि त कोही चाहियो नी । यसैले पनि नेपाली फिल्ममा छोरालाई डेब्यू गराउन लागेको हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *