नेपाली फुटबलबारे ओली : हाम्रो ‘एकुरेसी’ बढेको छ, झण्डै इन्टरनेसनल लेभलमा पुग्न लाग्यौं – Nepal Press

नेपाली फुटबलबारे ओली : हाम्रो ‘एकुरेसी’ बढेको छ, झण्डै इन्टरनेसनल लेभलमा पुग्न लाग्यौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको फुटबल खेल्ने शैली परिवर्तन भएसँगै स्तर बढेको बताएका छन् । नेपालको स्तर अब क्षेत्रीय स्तरबाट माथि उठेर अन्तर्राष्ट्रिय स्तरमा पुग्न लागेको उनको विश्लेषण छ ।

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै ओलीले खेलकुद र खेलाडीबारे आफ्ना धारणाहरु राखेका थिए ।

नेपालको फुटबलबारे ओलीले भने, ‘नेपालले पहिले स्लो मोसनमा खेलेर हार्थो । अहिले हाम्रा खेलहरु फास्ट हुन्छन् र एकुरेसी पनि बढेको छ । यसको परिणामस्वरुप हाम्रो फुटबल रिजनल लेभलबाट अगाडि बढेर इन्टरनेसनल लेभलमा जान खोजेको छ ।’

ओलीले खेलाडीहरुलाई विभिन्न टिप्स पनि दिए । खेलकुदमा राम्रो गर्नका लागि शारीरिक र मानसिक अवस्थाको सन्तुलन मिल्नुपर्ने उनले बताए ।

ओलीले भने, ‘हरेक खेलाडीको मुटु, फोक्सो र मस्तिष्कको तालमेल मिल्नुपर्छ । कहिलेकाहीँ डिफेन्सिभ भइयो भने पनि हरेस खानु हुँदैन । हाफ टाइममा चार गोल खाइयो भने पनि हामीसँग हाफ टाइम त बाँकी हुन्छ नि ।’

फुटबल खेलमा लगातार कुद्नु नपर्ने पनि ओलीले बताए । उनले भने, ‘एकछिन कुद्ने र खेलकै बीचमा तरिकासँग आराम गर्ने गर्नुपर्छ । अनावश्यकरुपमा कुदेको कुद्यै गर्दा थाकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर