ट्रेन्डिङ १ मा चढ्यो कमेडी च्याम्पियन, भरतमणीको पारस–अवतार हिट – Nepal Press

ट्रेन्डिङ १ मा चढ्यो कमेडी च्याम्पियन, भरतमणीको पारस–अवतार हिट

काठमाडौं । भरतमणि पौडेलको पारस-अवतार हिट भएसँगै कमेडी च्याम्पियनको ३४ औं एपिसोड नेपालमा युट्युव ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ । अपलोड भएको १८ घन्टामा करिब १० लाख भ्यूज बटुल्दै यसले शीर्षस्थान कब्जा गरेको हो ।

यो एपिसोड दुईवटा कारणले चर्चित बनेको छ । पहिलो भरणमणि पौडेलले गरेको पूर्वयुवराज पारस शाहको क्यारिकेचर । दोस्रो विक्की अग्रवालले गरेको पेन्टोमाइम प्रहसन । भरतमणिको क्यारिकेचरको क्लीप पहिले नै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । त्यसैले धेरै दर्शकहरु यो एपिसोडको पर्खाइमा थिए ।

भरतमणिको प्रहसन भाइरल भएको यो पहिलोचोटि होइन । यसअघि पनि उनले एमाले नेता गोकुल बास्कोटाको आवाज दुरुस्त उतार्दा त्यत्तिकै चर्चा पाएका थिए । पारसको क्यारिकेचरले त्यो चर्चालाई पनि उछिनेको छ । भरतमणिले गरेको पारसको डान्स स्टेप टिकटकमा धेरैले कपि गरिरहेका छन् ।

अर्कोतर्फ विक्कीको प्रस्तुतिको पनि त्यतिकै चर्चा भइरहेको छ । उनले गरेको ‘पेन्टोमाइम एक्ट’ लाई कार्यक्रमका एक निर्णायक सन्तोष पन्त नै विवादमा परेका छन् । पन्तले प्रतिक्रिया जनाउने क्रममा विक्कीको प्रस्तुति आफूले नबुझेको भन्दै नेपाली शैलीलाई नै निरन्तरता दिन आग्रह गरेका थिए ।

सामाजिक सञ्जालमा विक्कीप्रति अत्यधिक सहानुभूति देखिएको छ भने सन्तोष पन्त ट्रोलको शिकार बनेका छन् । यद्यपि, विक्कीको प्रस्तुतिले दर्शक हँसाउन नसकेकाले पन्तको मूल्यांकन सही रहेको भन्नेहरु पनि छन् ।

अहिलेको माहोल हेर्दा कमेडी च्याम्पियनको दोस्रो सिजनमा यिनै दुई कमेडियनबीच टक्कर हुने देखिन्छ । भरतमणि हिजोको प्रस्तुतिसँगै फाइनलमा पुगिसकेका छन् । विक्कीको भाग्य भने दर्शकमा निर्भर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *