देउवा र जोन्सनलाई गजुरियल व्यंग्य, भर्चुअल गाइजात्रामा कम्युनिष्टलाई पनि बाँकी राखेनन् ! – Nepal Press

देउवा र जोन्सनलाई गजुरियल व्यंग्य, भर्चुअल गाइजात्रामा कम्युनिष्टलाई पनि बाँकी राखेनन् !

कोभिड-१९ महामारीको कारण यसपटकको गाइजात्रा हाँस्यव्यंग्य कार्यक्रम भर्चुअलरुपमा आयोजना भएको छ । मंगलबारदेखि कमेडियन मनोज गजुरेल, शैलेन्द्र सिंखडादेखि पछिल्लो छिमलका कलाकारले टेलिभिजनमार्फत गाइजात्रा कार्यक्रम थालेका छन् ।

गजुरेलले यसपटक आफ्नो व्यंग्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, बेलायती समकक्षी बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पात्र बनाएका छन् । गाइजात्राको पहिलो एपिसोडमा गजुरेलले बेलायत र नेपालका प्रधानमन्त्रीहरुको भर्चुअल संवादलाई व्यंग्य गरे ।

अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवा र उनलाई जोन्सनले गरेको भिडिओ संवादमा आधारित रहेर व्यंग्य गरिएको छ । जोन्सन र दुबैको हुलियामा आफै प्रस्तुत भएका गजुरेलले ती पात्रको चरित्र चित्रण पनि आफै गरेका छन् । यस्तो छ संवाद :

जोन्सनः बधाई छ ।

देउवा : धन्यवाद र किन बधाई दिनुभएको ?

जोन्सन : तपाईंलाई होइन, अदालतलाई बधाई दिएको हो । अदालतको परामदेशले तपाईंलाई प्रधानमन्त्री बनायो । अनि अदालतले आदेश दिएर जनादेश गोलखाडीमा गएन र भन्या ? यही किसिमले प्रधानमन्त्री छान्ने काम चल्ने हो भने अर्कोपटक लोकेसेवाले प्रधानमन्त्री छान्ला नि ?

देउवा : लोकसेवाले प्रधानमन्त्री होइन, मन्त्री बनायो भने चाहिँ ठूलो कुरा नठाने हुन्छ ।

जोन्सन : टावर न सावर पाँचचोटी पावर । भन्नूस अब पाँचपटक प्रधानमन्त्री बन्न कस्तो खेल खेल्नुपर्दो रहेछ ?

देउवा : राजनीति भनेको चलखेल गर्ने नै हो । तर मेरो भाग्य नै यस्तो छ कि चलखेल गर्नुपरेन । कम्युनिष्टले प्रधानमन्त्री बन्न आग्रह गरेपछि नाइँ भन्न पनि मिलेन । कम्युनिष्टहरु लडेर मलाई राम्रो भाग्य मिलेको छ । भाइ फुटे गवार लुटे । बीचमै जोन्सनले बोले (तपाईंले बोलेको कुरा आफै बुझ्नुभयो भने ३ लाख पाउन्ड दिन्छु ।)

देउवा : विदेशबाट पैसा आएको छैन । व्यापार घाटा भएको छ । कम्युनिष्टले रुन पनि दिएनन र हाँस्न पनि दिएनन् । अब बेलायत र नेपालले इन्टरेनसनल ट्रेड गर्नुपर्‍यो । आइडिया सेयर गर्नुपर्‍यो ।

भदौ ७ गतेसम्म यसपटकको गाइजात्रा चल्ने भएको छ । यसपटक वृद्धदेखि तन्नेरीसम्मका दर्शकलाई लक्षित गरेर गाइजात्रा कार्यक्रम बनाइएको छ । यो सोका विजेता हिमेश पन्त पनि प्रस्तुत हुँदैछन् । गजुरेल स्वयम पनि कमेडी च्याम्पियनका जज हुन् । नेपाल प्रेससँग कुरा गर्दै गजुरेलले भर्चुअल कार्यक्रम गर्दा आफूहरुलाई नयाँ अनुभव हुने बताए ।

अहिले एपीवान टेलिभिजन र युट्युवमा गजुरियल च्यानलमार्फत गाइजात्रा प्रसारण भैरहेको छ ।

 

प्रतिक्रिया

One thought on “देउवा र जोन्सनलाई गजुरियल व्यंग्य, भर्चुअल गाइजात्रामा कम्युनिष्टलाई पनि बाँकी राखेनन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *