बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली यूएईतर्फ – Nepal Press

बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली यूएईतर्फ

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज युनाइटेड अरब इमिरेटस् (यूएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहेका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्ने छिन् ।

यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने प्रशिक्षक भट्टले बताए । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकको रूपमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई रहेका छन् । उक्त प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । नेपाली टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आज बिदाइ गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर