माधवपक्षीय वार्ताकारकै आग्रहमा ओलीको अपील, स्थायी कमिटी बैठकमा आउने अपेक्षा – Nepal Press

माधवपक्षीय वार्ताकारकै आग्रहमा ओलीको अपील, स्थायी कमिटी बैठकमा आउने अपेक्षा

काठमाडाैं । नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउने सूचना पाएपछि माधव नेपाल पक्षका वार्ताकार नेताहरुको आग्रहमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार राती अबेर पार्टी एकताको अपील जारी गरेको खुलेको छ ।

सरकारले हठात संसद अधिवेशन अन्त्य गरेलगत्तै माधव नेपाल पक्षका वार्ता टोलीका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य लगायत आन्तरिक छलफलमा जुटेका थिए ।

अध्यक्ष ओली निकटका वार्ताकार नेताहरु पनि आपसमा र माधव पक्षीय नेताहरुसँग छलफलमा थिए । माधव पक्षीय स्थायी कमिटीका नेताहरुले अध्यक्षबाट पार्टी एकताको पक्ष र १० बुँदे सहमति कार्यन्वयनको प्रतिबद्धतासहित वक्तव्य आइदिए हुन्थ्यो भनेपछि सो अपिल जारी भएको अ‍ोली निकट एक नेताले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामी लगातार छलफलमै थियौं । माधव नेपाल कसैगरी पनि एमालेमा नफर्किने भएपछि वार्ताकार नेताहरुले अध्यक्षले एकताको पहल लिएको र १० बुँदे कार्यन्वयनमा प्रतिबद्ध रहेको सन्देश देशव्यापी दिँदा हामीलाई सजिलो हुन्थ्यो भनेपछि राती त्यो अपिल आएको हो ।.

सरकार अध्यादेशको तयारीमा जुटेपछि वार्ताकार नेताहरु सक्रिय भएका छन् । उनीहरुकै आग्रहमा अपील जारी भएको र उनीहरुकै लागि आजको स्थायी कमिटी बैठक बोलाइएको अध्यक्ष अ‍ोली निकट स्रोतले जनाएको छ । संसदीय दल र स्थायी कमिटीको बैठकबाट एमाले एकता र विभाजनको पक्षमा रहनेहरुको कित्ताकाट हुने ती नेताले बताए ।

उनले भने, आजको स्थायी कमिटी बैठक उहाँहरुकै लागि बोलाइएको हो । व्यक्तिगत रुपमा फोन गरेर आजको बैठकमा आउनुस् भनिएको छ । संसदीय दलमा र स्थायी कमिटी बैठकमा आएर एकताको दबाब दिनुस् भनेका छौं । को को आउँछन् हेरौं,तर अब पर्खेर बस्न सकिन्न । एमालेमा माधव नेपाल नआउने लगभग निश्चित छ ।’

भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरु विभाजनको विपक्षमा सक्रिय भएकाले माधव नेपाल पक्षको एउटा पंक्ति एमलेमै रहने आँकलन संस्थापन पक्षले गरेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय दलको बैठकमा आउनका लागि माधव नेपालसहित सबै सांसदलाई खबर गरिएको नेपाल प्रेसलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर