आफ्ना सांसदलाई माधवको आग्रह : मन्त्री बन्न दाम्लो नचुँडाल्नुस्, अन्तिम कोसिस गरौं (भिडिओ) – Nepal Press

आफ्ना सांसदलाई माधवको आग्रह : मन्त्री बन्न दाम्लो नचुँडाल्नुस्, अन्तिम कोसिस गरौं (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको बताए।

‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भने, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ। दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न नदिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’

उनले अझैं पनि एमाले अध्यक्ष केपी ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर आफ्ना साथीहरु प्रयास गरिरहेको र आफूहरु अन्तिम प्रतिक्षामा रहेको बताए । उनले भने, ‘हामी अझैं पनि अन्तिम प्रतिक्षामा छौं । अझैं पनि कोसिस जारी छ । हाम्रो कोसिस गर्ने कमरेडले सक्नुहुन्छ कि, मन परिवर्तन गर्नका लागि ।’

सरकारमा सहभागिता र नियुक्तिहरुबारे पनि नेता नेपालले टिप्पणी गरे । ओली सरकारले एकलौटी रुपमा गरेका नियुक्तिमा के गर्ने भन्नेबारे छलफल जारी रहे पनि आफूहरुले सरकारलाई मन्त्रिपरिषद् विस्तार र नियुक्तिमा नरोकेको बताए। ‘हामीले रोेकेका छैनौं सरकारलाई,’ उनले भने, ‘हामीले भनेका छौं कि तपाईंहरु सरकार बनाउँदै गर्नुहोस्, मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामी पठाउन सक्दैनौं । किनभने हाम्रै टुंगो छैन् । किभने हामी छुट्दै भइदिएको भए फलना-फलनालाई पठाउने भन्ने हुन्थ्यो होला।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर