सरकारलाई व्यवसायीको प्रश्न: कोरोना साँझ परेपछि सर्ने हो ? – Nepal Press

सरकारलाई व्यवसायीको प्रश्न: कोरोना साँझ परेपछि सर्ने हो ?

फेरि लकडाउन गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीले फेरि निषेधाज्ञा वा लकडाउन गरे सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । साँझ ८ बजेपछि सार्वजनिक सवारीसाधन नचलाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेपछि व्यवसायीले फेरि निषेधाज्ञाको संभावना बढेको अनुमान गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुको सरकारलाई प्रश्न छ– साँझ परेपछि मात्रै कारोना सर्ने हो ?

कोरोनाका कारण ३ वर्षदेखि डामाडोल व्यवसाय लयमा फर्कने आश गरेका व्यवासायी सरकारका पछिल्ला नियमबाट तर्सेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ भने साँझ ७ बजेसम्म मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले माइकिङ गरिरहेको छ ।

कोरोनाका करण यातायात, होटल, पर्यटन, साना व्यवसाय र विद्यालयलगायत क्षेत्र उठ्नै नसक्ने गरी थला परेका छन् । व्यवसाय डामाडोल भएपछि धेरै व्यवसायी तनावमा छन् ।

कोरोना संक्रमण दर बढे पनि राजनीतिक भेला तथा सभा भइरहेकोप्रति आपत्ति जनाउँदै व्यवसायीले व्यवासाय चलाउँदा मात्रै कोरोना सर्ने हो ? भनी प्रश्न गरिरहेका छन् ।

निजी क्षेत्रका सबै संस्थाहरुले कोरोनाविरुद्धको खोप लगाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारसँग कोरोनाविरुद्धको खोप मागिरहेका छन् । चेम्बरले सरकारसँग नेपालमा आयत भएको कोरोनाखोपको न्यूनतम १० प्रतिशत निजी क्षेत्रलाई दिन माग गरेको छ ।

पेट्रोलियम पदार्थ आयत गर्ने ढुवानी व्यवसायीले ढुवानी नै बन्द गरेर आन्दोल गरेपछि मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए । अन्य व्यवसायी पनि खोप नपाए आन्दोलन गर्ने सोचमा पुगेका छन् । सरकारले चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएको छ ।

व्यापारी, उद्योगी र विभिन्न सेवा प्रदायक कम्पनीले आफूहरु फ्रन्टलाइनर भएकाले चाँडै खोप पाउनुपर्ने माग गरिरहेका छन् । यातायात, ढुवानी, विभिन्न सेवा प्रदायक कम्पनीका केही कर्मचारीले भने कोरोनाविरुद्धको खोप लगाएसकेका छन् ।

प्रतिकार गर्ने तयारीमा व्यवसायी

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सरकारले समय तोक्दैमा कोरोना संक्रमण नरोकिने बताए । ‘सरकारले व्यवसायमा समय तोकेर मात्रै कोरोना नियन्त्रण हुँदैन । मास्कको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्दै व्यवासाय सञ्चालन गर्न पाउनुपर्छ । सधैं कोरोनाको नाममा आर्थिक क्षेत्र ठप्प पार्नु हुँदैन’, उनले भने, ‘८ बजेदेखि नै सवारीसाधन ठप्प पार्नु अव्यवहारिक हुनेछ ।’

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अब पनि बन्द भए व्यापारी चुप लागेर नबस्ने बताए । उनल भने, ‘सरकारले घर भाडा र बैंकको लोनका विषयमा केही बोल्दैन । जहिले पनि बन्द गर्ने मात्रै भन्छ भने हामी त्यसको प्रतिकारमा उत्रन्छौं । अब पनि बन्द गर्ने हो भने क्षतिको जिम्मा सरकारले लिनुपर्छ ।’

व्यापारीलाई सरकारले आत्महत्या गराउन खोजेको उनको भनाइ छ । ‘जसरी पनि मर्नै पर्ने भएपछि हामी सरकारविरुद्ध सडकमा उत्रन्छौं’ उनले भने ।

बन्दको विरोध गर्दै आइरहेको राष्ट्रिय व्यवसायी महासंघले पहिले पनि लकडाउनको बीचमा नै पसल सञ्चालन गरेर विरोध जनाएको थियो । उनीहरुले अब पनि बन्द भयो भने चुप लागेर नबस्ने बताइरहेका छन् ।

नेपाल प्रहरीका प्रवाक्ता एसएसपी वसन्तबहादुर कुँवरले नेपाल सरकारले गरेको निर्णय कार्यन्वायन गराउनु आफ्नो कर्तव्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *