पीएसजीको नयाँ अट्याकिङ ‘ट्रिओ’– एमएमएन – Nepal Press

पीएसजीको नयाँ अट्याकिङ ‘ट्रिओ’– एमएमएन

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनेल मेसीलाई क्लबमा भित्र्याएसँगै फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)ले नयाँ अट्याकिङ ‘ट्रिओ’ तयार गरेको छ । बार्सिलोनाको आर्थिक समस्याका कारण क्लब छोड्न बाध्य भएका मेसीलाई बुधबार बिहान नै पीएसजीले क्लबका नयाँ खेलाडीको रूपमा सार्वजनिक गरिसकेको छ ।

मेसीको आगमनसँगै पीएसजीले ‘हेभिवेट’ अट्याकिङ ट्रिओ पनि निर्माण गरेको छ । बार्सिलोनाको अट्याकिङ ट्रिओ– एमएसएन (मेसी–स्वारेज–नेइमार) पछिल्लो दशकको चर्चित अट्याकिङ ट्रिओ थियो । तर, मेसी पीएसजीमा अनुबन्धित भएसँगै एमएमएन– मेसी–एमबाप्पे–नेइमारको नयाँ ट्रिओ बनेको छ ।

मोर्डन फुटबलका उत्कृष्ट चार खेलाडीमध्ये तीन खेलाडी हुन्– मेसी–एम्बाप्पे र नेइमार । पीएसजीको अट्याकिङ थर्डमा उनीहरूको उपस्थितिले विपक्षी टोलीको रक्षापंक्तिको सातो पक्कै उडाउने छ ।

टोटेनह्यामबाट बर्खास्त भएर पीएसजी पुगेका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सम्भवतः आधुनिक फुटबलको सबैभन्दा सशक्त आक्रामक ट्रिओ परिचालन गर्न पाउने छन् । कतिपय समर्थकले इङ्लिस क्लबबाट बर्खास्त हुनु पोटेटिन्होका लागि सौभाग्य रहेकोसमेत तर्क गरिरहेका छन् ।

र, ६ पटकका बालोन डी’अर विजेता मेसी, स्किलफुल नेइमार र तुफानी गतिका एम्बाप्पेसहितको टोली लिएर पीएसजीलाई च्याम्पियन्स लिग जिताउनु पोचेटिन्होको प्रमुख लक्ष्य हुनेछ । गत दुई सिजनमा कम्तिमा सेमिफाइनलसम्म पुगेको पीएसजीले दुई वर्षअघि फाइनल खेलेको थियो ।

यद्यपि, फाइनलमा जर्मन महारथी बायर्न म्युनिखसँग पराजित हुँदै उपाधिबाट वञ्चित हुनुपरेको पीएसजीले गत सिजन सेमिफाइनल पार गर्न सकेन । पीएसजीले सबैभन्दा धेरै कुनै इच्छा बोकेको छ भने त्यो च्याम्पियन्स लिगको सफलता हो । र, गत सिजन त्यो इच्छामा म्याचेस्टर सिटी बाधक बनेको थियो ।

तर, आधुनिक फुटबलकै उत्कृष्ट अट्याकिङ ट्रिओ तयार गरेको पीएसजीले यो सिजन कहाँसम्मको दूरी तयार गर्छ रु त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर