कांग्रेस मिलाउन मिनेन्द्र रिजालकाे सक्रियता – Nepal Press

कांग्रेस मिलाउन मिनेन्द्र रिजालकाे सक्रियता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे अन्यौल बढ्दै जाँदा शीर्ष नेताहरुबीच सौहार्दपूर्ण छलफल समेत अवरुद्ध छ ।

सभापति शेरबहादुर देउवाले अघिल्लो हप्तासम्म भदौ १६ मा जसरी पनि महाधिवेशन उद्घाटन गर्ने बताउँदै आएका थिए । यथास्थितिमा भदौ १६ मा महाधिवेशनको सम्भावना टरिसकेको छ तर कांग्रेस नेतृत्वले यसबारे केही बोलेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले संवैधानिक सीमाभित्रै महाधिवेशन हुनुपर्ने निर्णय गरेको छ । त्यस्तै संस्थापन इतर समूहका जिल्ला सभापतिहरुको बैठकले पनि नियमित महाधिवेशन हुन नसके तत्काल विशेष महाधिवेशन गर्नुपर्ने ठहर गरेको छ ।

क्रियाशील सदस्यता विवाद र महाधिवेशनको अनिश्चितताका कारण सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच तिक्तता बढ्दो छ । यही तिक्तता कम गर्दैै पार्टीभित्र सहमतिको बाटो पहिल्याउन कांग्रेसले नेता डा. मिनेन्द्र रिजालले सक्रियता बढाएका छन् ।

संस्थापन इतर समूहका प्रभावशाली नेता रिजाल महाधिवेशनबारे जस्तो निर्णय भएपनि सहमतिमा हुनुपर्ने पक्षमा छन् । संस्थापन इतर पक्षले भदौ १६ मै महाधिवेशन हुनुपर्ने अडान लिएको र संस्थापन पक्षले महाधिवेशन सार्ने गरी कार्यतालिका तयार गरेको अवस्था छ ।

विहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने सभापति देउवाको तयारी छ । क्रियाशील सदस्यताको टुंगो नलागेसम्म महाधिवेशनको कार्यतालिका नबन्ने र संवैधानिक सीमाभित्रै निर्वाचन गर्ने दायित्व सभापतिको हुने पौडेल पक्षको ठहर छ । दुवै पक्षको अडानका बावजुद पार्टीलाई क्षति नहुने गरी समन्वयको अग्रसरता नेता रिजालले गरेका हुन् ।

रिजालकै पहलमा मंगलबार साँझ प्रधानमन्त्री एवं सभापति देउवाले नेताहरु डा. शेखर कोइराला र गगन थापासँग संवाद गरे । रिजालले संयोजन गरेको छलफलमा क्रियाशील विवाद र महाधिवेशनबारे छलफल भएको थियो ।

रिजालसहित कोइराला र थापाले महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न देउवालाई आग्रह गरेका थिए । बैठकमा रिजालले महाधिवेशनबारे संस्थापन पक्षले एकलौटी निर्णय गर्न नसक्ने बताएका थिए ।

‘को-कोसँग छलफल गर्नुपर्छ गरिहाल्नुस् । महाधिवेशनबारे केन्द्रीय समिति बैठक अगाडि नै साझा धारणा बन्नु राम्रो हुन्छ । सल्लाह बिना महाधिवेशन कार्यतालिका आए स्थिति अझ जटिल बन्छ’, रिजाललाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

नेता रिजालले क्रियाशीलको विवाद तत्काल समाधान गरेर प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने आफूहरुको प्रस्ताव रहेको बताएका थिए । जवाफमा देउवाले सबैको सहमतिमा महाधिवेशन गर्ने भन्दाभन्दै ढिलो भएको बताउँदै नयाँ कार्यतालिकाबारे सबैसँग संवाद गर्ने जनाएका थिए ।

भेटमा कोइराला र थापाले महाधिवेशन गराउने र सबैलाई समेटेर लैजाने दायित्व नै सभापतिको हुने भन्दै आफ्नो धारणा र प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

‘भदौ १६ मा महाधिवेशन हुन्छ भनेर तपाईंले भन्नुभएको छ हामी पनि हुन्छ होला भन्नेमा छौं । हुँदैन भने के गर्ने त्यो तपाईंले नै भन्नुपर्‍याे । त्यसमा को-कोस‍ँग छलफल गर्नुपर्छ/पर्दैन तपाईकै कुरा भयो’, नेताद्वयको भनाई थियो ।

तीन जनाबीच छोटो कुराकानी भएको र संवाद जारी राख्ने सहमति भएको बताइएको छ । तुलनात्मक रुपमा आफ्नै प्रखर आलोचक रहेका कोइराला र थापासँग महाधिवेशनबारे सभापति देउवाले थालेको छलफललाई इतर समूह फकाउने प्रयासका रुपमा लिइएको छ ।

कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सक्रिय रिजाल क्रियाशील सदस्यता विवाद समाधानका लागि जारी शीर्ष छलफलमा सहभागि हुँदै आएका छन् । त्यस्तै सत्तारुढ गठबन्धनको कार्यदलमा पनि रिजाल क्रियाशील छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर