रुपन्देहीमा आलुजन्य पदार्थ उद्योग, वार्षिक १२ अर्बको आयात रोक्ने योजना – Nepal Press

रुपन्देहीमा आलुजन्य पदार्थ उद्योग, वार्षिक १२ अर्बको आयात रोक्ने योजना

आलु उत्पादकलाई बजार मूल्यभन्दा ५ रुपैयाँ बढीसहित बजारको ग्यारेन्टी दिने

रुपन्देही । भारत तथा तेस्रो मुलुकबाट आलु र आलुजन्य सामग्री आयात रोक्ने योजनाका साथ रुपन्देहीका युवाउद्यमी कृष्णप्रसाद पौडेलले डेढ अर्ब लगानीमा संचालन गर्न लागेको फस्ट च्वाइस फुड्स प्रालिकोे ८० प्रतिशत काम सकिएको छ ।

नेपाली किसानको उत्पादनलाई पूर्ण बजार ग्यारेन्टीका साथ आलु खेतीमा प्रोत्साहित गर्ने र बजारमा आउने आलु तथा यसबाट बनेका विभिन्न उत्पादनहरु तयार गर्ने योजना उद्योगले बनाएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मैनहियामा ३ विगाह क्षेत्रफलमा बनाइएको यो उद्योगको २० प्रतिशत मात्र काम बाँकी रहेको छ । पहिलो वर्षमै तयारी वस्तु उत्पादनको धेरै प्रतिशत आयात रोक्ने दावी कम्पनीको छ ।

करिब दुई दशकदेखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालिटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका कृष्णप्रसाद पौडेलको लगानीमा आलुसम्बन्धी विभिन्न परिकार उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा आउन लागेको हो ।

‘मैले देशका विभिन्न स्थानमा डुल्दा आलुका परिकार कहाँबाट आउने रहेछन् भने ध्यान दिएको सबै बाहिरबाट, भन्सारमा गयो सबैभन्दा धेरै आलुका बोरा आइरहेको देखेपछि यसको अध्ययन थालेको हुँ, आज यो अवस्थामा आइसक्यो केही महिनामा नेपालीलाई राम्रो सन्देश दिनेछ’, संचालन पौडेलले भने ।

२०८२ सालसम्ममा नेपालमा आलुजन्य विभिन्न उत्पादन आयात विस्थापित गर्ने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कम्पनीका व्यवस्थापक अनिशकुमार खड्काले बताए ।

पौडेलका अनुसार प्रतिमिनेटमा ३ टन आलु खपत गरी २ टन आलुजन्य वस्तु उत्पादन गर्ने क्षमताको उक्त उद्योग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । अहिले यसको लागि किसानसँग सहजीकरण, विभिन्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र रुपन्देही, कपिलवस्तु, दांग, नवलपरासीका आलु पकेट क्षेत्रका किसानहरु, यससम्बन्धि काम गर्ने सहकारीहरुसँग आलुको उत्पादन तथा बजारको ग्गारेन्टीका विषयमा छलफल एको पौडेलले बताए ।

उद्योगको विभिन्न भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने किसानका लागि धान खेती लगत्तै दिने सहुलियतपूर्ण बीउको तयारी भएको संचालक पौडेलले बताए ।

उनका अनुसार अहिले यो खेती गर्न चाहने किसानले बीउ लिँदा रकम तिनुपर्दैन र पछि उत्पादित आलु खरिद गर्दा त्यो रकम काटेर भुक्तानी पाउनेछन् । उद्योगले किसानलाई आलु उद्योगमा आकर्षण गर्नका लागि बजार मूल्यमा क्षेत्र हेरेर ५ रुपैयाँ बढी मूल्य दिने प्रतिवद्धता गरेको छ ।
बिउ, मल, प्राविधिक सेवालगायत सबै उत्पादनपूर्व उपलब्ध गराउने, उत्पादनपश्चात खरिद गर्ने ग्यारेन्टीसहितको योजना कम्पनीले ल्याएपछि किसानलाई निकै ठूलो उत्साह आएको सो गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले बताए ।

उनले आफ्नो पालिकामा यति ठूलो लगानीमा शुरु भएको उद्योगका लागि आवश्यक नीतिगत सहयोग गर्ने बताए । ‘धान, गहुँको पकेट क्षेत्र थियो, यसबाट भन्दा आलुबाट धेरै फाइदा हुने यसका प्राविधिकले बताएपछि यहाँका किसान खुसी छन्’, चौधरीले भने ।

कम्पनीले आफ्नो उत्पादनलाई चुस्त राख्न र किसानका लागि आवश्यक सल्लाह दिनका लागि विभिन्न क्षेत्रका प्राविधिकलाई जिम्मेवारी तोकेको छ । सो कम्पनीमा आवद्ध आलु विशेषज्ञ डा. श्यामप्रसाद ढकालका अनुसार हाल नेपालमा करिब १२ अर्बको आलु तथा यसका परिकारहरुको आयात भइरहेको छ ।

यसमध्ये ६ अर्ब आलु र बाँकी ६ अर्ब आलुजन्य वस्तुमा आयात भएकोमा तयारी वस्तुको आयात दुई वर्षमा आत्मनिर्भर बनाएर बाहिर पठाउने र आलु उत्पादनका लागि ५० प्रतिशत अर्थात ३ अर्बको आयात विस्थापन गर्ने लक्ष्य उद्योगले राखेको छ । अर्बौको आलु र आलुजन्य परिकारर आयात हुँदै आएकोमा स्वदेशी किसानहरुलाई नै आलु खेतीमा प्रोत्साहित गरी स्वदेशमै उत्पादत बस्तु विदेश निर्यात गरेर आलु आयात प्रतिस्थापन गर्ने गरी कम्पनीले काम गर्ने जानकारी दिए ।

जसका लागि कम्पनीले ट्स्यु कल्चर सहितको प्रयोगशाला स्थापना सहित विभिन्न स्थानमा कोल्डस्टोर समेत निर्माण गर्नेछ भने दाङ, भैरहवा, बाँके, बर्दियामा भएका चिस्यान केन्द्रमा आलु संकलन तथा स्टोर गरी आवश्यकता अनुसार प्रयोग गर्ने छ ।

उद्योगबाट फ्रेन्च फ्राई, पोटाटो नगेट्स,चिप्स,समोसा,पकौडा,बल्स आदि एक दर्जन परिकार उत्पादन गर्नेछ । ट्रकबाट मेसिनमा आलु खसालेपछि चाहेको परिकार तयार भएर आउने गरी मेसिन जडान हुँदैछन् । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपूुर्तिका लागि प्रालिले पहिलो चरणमा ५ हजार किसानमार्फत ६०० हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत १८०० हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आवद्ध गराउने योजना बनाएको छ ।

आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोधन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बांँकेलगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति बनाएको सञ्चालक पौडेलको भनाइ छ । किसानले दुई सिजन आलु उत्पादन गर्नसक्ने र उत्पादित आलु उद्योगले उचित मूल्यमा खरिदको सुनिश्चितता गरिदिने छ ।

पहिलो वर्ष लुम्बिनी प्रदेशका १० जिल्लामा किसानहरुलाई आलु खेतीमा लगाउने योजना कम्पनीले बनाएको छ । उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्ने भएकाले पहिलो वर्ष ६ सय हेक्टरमा आलु उत्पादन गर्ने र दोस्रो वर्ष २० हजार घरपरिवारलाई आलु खेतीमा लगाउने प्रालिको तयारी छ । २०८० पछि ४० देखि ५० हजार परिवारले उद्योगकै लागि व्यवसायिक आलु खेती गर्नेछन् । कम्पनीले संचालन गर्न लागेको पूर्णरुपमा रोवर्टेड स्वचालित उद्योग नेपालको पहिलो उद्योगको रुपमा हुने दावी गरेको छ ।

२०८२ सालसम्ममा नेपालमा आलुजन्य विभिन्न उत्पादन आयात विस्थापित गर्ने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कम्पनीका व्यवस्थापक अनिशकुमार खड्काले बताए ।

उनका अनुसार नेपालमा उत्पादन भएको आलु फ्रेन्च फाई, आलु चिप्स, आलु रिङ्ग, आलु टिक्का, आलु रोलसहितका विभिन्न परिकारहरु उद्योगले बंगलादेश, भारत पाकिस्थान, दुवई भुटानलगायतका देशमा बिक्री गर्ने योजना राखेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *