अमेरिका पदकको शतकनजिक, तर चीन अगाडि – Nepal Press

अमेरिका पदकको शतकनजिक, तर चीन अगाडि

एजेन्सी । टोकियो ग्रिष्मकालीन ओलम्पिकमा अमेरिका पदकको शतक नजिक पुगेको छ । तर, स्वर्णको संख्याका कारण समग्रमा चीनकै अग्रता कायम छ ।

टोकियो ओलम्पिकको १३ दिनको खेल समाप्त हुँदा अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कांस्यसहित ९१ पदक जितेको छ ।

अमेरिकाले भन्दा पाँच स्वर्ण धेरै जितेको चीन समग्र पदक संख्याका आधारमा भने अमेरिकाभन्दा धेरै पछाडि छ । उसले २४ रजत र १६ कांस्य गरी ७४ पदक जितेको छ ।

पदक संख्याका आधारमा रुस ओलम्पिक कमिटी तेस्रो स्थानमा छ । १६ स्वर्ण, २२ रजत र २० कांस्यसहित ५८ पदक जितेको रुस स्वर्णका आधारमा भने पाँचौं स्थानमा छ ।

२२ स्वर्णसहित आयोजक टोली जापान तेस्रो स्थानमा छ । ओलम्पिकमा जापानको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अष्ट्रेलियाले १७ स्वर्ण जितेको छ भने रुससँगै ग्रेट ब्रिटेनले १६–१६ स्वर्ण जितेका छन् ।

अहिलेसम्म ६३ देशले स्वर्ण पदक जितेका छन् । एउटा मात्र स्वर्ण जित्ने देशको संख्या २८ छ भने दुईवटा स्वर्ण जित्नेको संख्या १२ छ ।

ओलम्पिकमा आज शुक्रबार १२ खेलका २३ स्पर्धाको फाइनल खेल हुँदैछ । तीमध्ये ९ स्पर्धामा पदक ल्याए अमेरिकाले पदकको शतक प्रहार गर्नेछ ।

आज महिला फुटबलको फाइनल हुँदैछ । फाइनलमा स्वीडेन र क्यानडा आमने सामने हुँदैछन् । त्यस्तै पुरुष फुटबलको कांस्य पदकका लागि जापान र मेक्सिको खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर