विमला वलीः श्रीमानको मृत्युपछि राजनीतिमा, सरकार ढाल्न निर्णायक – Nepal Press

विमला वलीः श्रीमानको मृत्युपछि राजनीतिमा, सरकार ढाल्न निर्णायक

रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य विमला वली यतिबेला ‘टक अफ दि टाउन’ बनेकी छन् । आफूलाई मुख्यमन्त्रीकै निवासमा पाँच दिनसम्म बन्धक अवस्थामा राखिएको अपत्यारिलो दावीसँगै उनको बारेमा चासाे बढेको छ ।

पश्चिम दाङको दंगिसरण गाउँपालिका-६ घर भएकी वली २०७६ साल मंसिरमा भएको उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट जितेर प्रदेशसभामा आएकी हुन् । श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनलाई पार्टीले उपनिर्वाचनमा टिकट दिएको थियो ।

विमलाका श्रीमान उत्तरकुमार मुख्यमन्त्री शंकर पोखरेलका विश्वासपात्र मानिन्थे । सो क्षेत्रमा पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका उनको निधनले ठूलो क्षति पुगेको पोखरेलले बताउने गरेका छन् । उत्तरको निधनपछि पोखरेलकै जोडबलमा उनकी पत्नी विमलालाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको थियो ।

२०६६ सालदेखि राजनीतिमा जोडिएको बताउने गरे पनि विमलाको राजनीतिक पृष्ठभूमि खासै भेटिँदैन । श्रीमान सक्रिय राजनीतिमा लागेकाले आफूले यतापट्टि धेरै ध्यान नदिएको र राजनीतिका विषयमा धेरै ज्ञान नभएको उनले बताउने गरेकी छन् । ०४१ सालमा बाँकेमा जन्मेकी ३७ वर्षीया विमलाको औपचारिक अध्ययन एसएलसी मात्रै हो ।

बिमलाले उपचुनाव लड्दा नेकपा एमाले र माओवादी पार्टी एकता भएर नेकपा बनिसकेको थियो । उनले नेकपाको चुनाव चिन्ह सूर्य लिएर लडेकी थिइन् । जब सर्वोच्च अदालतले गत वर्ष नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्यूँताइदियो, त्यसपछि बिमलाको ढुलमुल सुरु भयो । यसबीचमा उनको राजनीतिक अनुभवहीनता र अपरिपक्वता नराम्ररी छचल्किएको छ ।

कहिले एमाले, कहिले माओवादी

सर्वोच्चको गत फागुन २३ को सर्वोच्चको फैसलापछि बिमला एमालेमै थिइन् । तर, जब लुम्बिनीमा सत्ता राजनीतिले उग्ररुप लियो, अनि बिमला दुई पार्टीको तानातानमा परिन् ।

सत्तारुढ एमालेलाई दिएको समर्थन माओवादीले फिर्ता लिएसँगै गत बैशाख ६ गते विपक्षी गठबन्धनले पहिलोपटक मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए । त्यसपछि संसदको जोडघटाउ शुरु भयो । विमलाको एक भोट पनि दुवै पक्षका लागि महत्वपूर्ण हुन गयो ।

सर्वोच्चको फैसलापछि गत संसदीय चुनाव र प्रदेशसभा चुनावमा एमाले र माओवादीबाट चुनाव लडेकाहरु आ-आफ्नो पार्टीमा फर्किए । किनकी ती चुनाव हुँदाताका नेकपा बनिसकेको थिएन । तर, नेकपाको एकतापछि भएको उपनिर्वाचनबाट जितेर आएकाहरुबारे अन्योल उत्पन्न भयो । यसरी जित्नेहरुले आफैं पार्टी रोज्न पाउनुपर्ने एकथरि तर्क थियो भने जुन पार्टीको चुनाव चिह्नबाट जितेको छ त्यसमै फर्किनुपर्ने अर्काेथरि तर्क थियो ।

आफैंले उपनिर्वाचनमा टिकट दिलाएको हुँदा विमला एमालेमै रहनेमा मुख्यमन्त्री पोखरेल ढुक्क थिए । एमालेले उनलाई आफ्नाे पार्टीको सांसदको रुपमा गणना गरिरह्यो । तर,  विमलाले भने अस्वभाविक खेलकुद गरिन् । यो बीचमा उनले चारपटक एमाले र माओवादीमा यता र उता गरेकी छन् ।

उनी शुरुमा एमालेको संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि भाग लिइन् । तर मुख्यमन्त्री पोखरेविरुद्ध अविश्वास प्रस्तावको तयारी भएसँगै उनले पत्रकार सम्मेलनमार्फत माओवादी पार्टी रोजेको घोषणा गरिन् । तर, एमालेले भने उनलाई कानूनी हिसाबले आफ्नै दलको सांसदका रुपमा मान्दै र गन्दै आयो ।

सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी गठबन्धनतिर लागेको भन्दै एमालेले उनीसँग स्पष्टीकरण लियो । उनले एमालेसँग आफ्नो कुनै साइनो नभएको र आफू माओवादी भइसकेको जवाफ दिइन् ।

तर गत साउन १५ गते गृहजिल्ला दाङ पुगेकी विमला एकाएक सम्पर्कबिहीन भएको सूचना माओवादी केन्द्रले बाहिर ल्यायो र सरकारले अपहरण गरेको आरोप लगायो । तर दुई दिनअघि विमलाले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै फर्केको घोषणा गरिन् ।

आज फेरि आफू माओवादीमै रहेको बताएर उनले अर्को ट्वीस्ट ल्याएकी छन् । माओवादी संसदीय दल कार्यालयमा सार्वजनिक हुँदै उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबरजस्ति विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको दावी गरेकी छन् ।

विमलाको आरोप र एमालेको प्रतिवाद

विमलाले आफू माओवादीमै रहेको घोषणा गर्ने क्रममा मुख्यमन्त्रीसमेत विवादमा मुछिने गरी गम्भीर आरोप लगाएकी छन् । यद्यपि, उनका अभिव्यक्ति विश्वसनीय छैनन् ।

आफूलाई अपहरण शैलीमा जवरजस्ती उठाएर दाङबाट बुटबल ल्याइएको बिमलाले दावी गरेकी छन् । आफू नेपालगञ्ज जाने भनेर हिँडेको तर एमाले प्रमुख सचेतकले गाडीमा हालेर मुख्यमन्त्रीको निवासमा पुर्‍याएको उनको भनाइ छ ।

तर, एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल भने यसरी एउटा सांसदलाई जबरजस्ती उठाउन सम्भव नै नहुने बताउँछन् । बिमला आफैंले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि आफूले पुर्‍याइदिएको उनको दावी छ । ढकालका अनुसार गाडीमा बिमला मात्रै नभएर उनको दिदी र भिनाजुका भाइ पनि सँगै आएका थिए ।

यदि विमलालाई जबरजस्ती घरबाट उठाएर ल्याइएको भए परिवारले यो कुरा किन बाहिर ल्याएनन् भन्न् प्रश्न उठ्छ । आफू लुगाफाटा र सरसामान बोकेरै मुख्यमन्त्री निवासमा आएको बिमला स्वयमले बताएकी छन् । त्यसैले उनी योजनावद्ध तरिकाले नै आएको स्पष्ट देखिन्छ ।

त्यसाे मुख्यमन्त्रीकाे निवासमा ५ दिनसम्म एक महिला सांसदलाई किन राखियो भन्ने प्रश्न पनि उठेको छ । प्रमुख सचेतक ढकालले भने होटलमा बस्न आग्रह गर्दा बिमला स्वयमले मुख्यमन्त्री पोखरेल अभिभावकजस्तो भएकाले निवासमै सहज हुने बताएको उल्लेख गरेका छन् ।  एक्लैलाई अप्ठेरो होला भनेर अर्की नेतृलाई पनि सँगै राखेको उनको भनाइ छ ।

यसबीचमा विमलालाई फकाउन मुख्यमन्त्री र एमालेले हरसम्भव प्रयास गरेको देखिन्छ । दाङदेखि बुटबलसम्म प्रमुख सचेतकले आफ्नै गाडीमा हालेर ल्याउनु र पाँच दिनसम्म मुख्यमन्त्रीको निवासमा वास दिनुलाई सांसद तानातानको स्वभाविक परिदृष्य भनेर पन्छाउन मिल्ने देखिँदैन ।

यद्यपि, बिमलाले दावी गरेजस्तो उनलाई बन्दी झैं राखिएको र दवावमा पारेर जबरजस्ति विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको पनि पत्याइहाल्ने आधार छैन । उनले आफुसँग भएको मोबाइल खोसिएको बताएकी छैनन् । यदि बन्धककै रुपमा राखिएको थियो भने बाहिर फोन गरेर सूचना किन दिइनन् भन्ने स्वतः प्रश्न उठ्छ ।

आफूलाई अपहरण शैलीमा उठाएर मुख्यमन्त्री निवासमा बन्धक बनाइएको गम्भीर आरोप लगाए पनि उनले कानूनी प्रक्रियामा भने नजाने बताएकी छन् । यसले पनि उनको दावीमा आशंका गर्ने ठाउँ रहन्छ ।

सरकार ढाल्न निर्णायक बिमला

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अहिले तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावमा छलफलका लागि संसद अधिवेशनसमेत आह्वान भइसकेको अवस्थामा दुवै पक्ष आ-आफ्नो रणनीतिमा छन् ।

पछिल्लोपटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि विपक्षी गठवन्धनका लागि अनुकलता मिलेको छ । विपक्षी गठबन्धन जसरी पनि बहुमत पुर्याउने योजनामा छ । यस्तो दाउपेचका बीच बिमलाको एक भोटले पनि फरक पार्न सक्छ ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये ४१ सांसद बहुमतका लागि आवश्यक पर्दछ । सरकारमा सहभागी जसपा महन्थ ठाकुरका ३ सांसद कारबाहीमा परेपछि सत्तारुढ दलमा ३८ जना मात्र सांसद रहेका छन् । विपक्षी गठबन्धनमा बिमलासहित ठ्याक्कै ४१ छन् । उनी एमालेतिर आइन् भने गठवन्धनको बहुमत गुम्छ । त्यसैले सरकारले बिमलालाई गठवन्धनबाट आफूतिर तान्ने हरसम्भव कोशिष गरेको हो ।

प्रदेशसभाको यही गणितले गर्दा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनासाथ बिमला चर्चामा आउँछिन् । तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले तीनपटक दल फेरेकी छन् । पछिल्लोपटक माओवादी रोज्नुमा उनलाई कुनै आकर्षक प्रस्ताव गरिएको हुनसक्ने अनुमान छ । अन्यथा आस्थाको हिसाबले उनको पार्टी एमाले नै हो ।

यता, आफैले चुनावमा टिकट दिलाएर राजनीतिको भर्याङ चढाएको व्यक्तिले धोका दिँदा मुख्यमन्त्री पोखरेल तनावमा परेका छन् । प्रदेश सभामा उनकै गृहजिल्लाबाट जितेका अमर डाँगीले पहिलो अविश्वासको प्रस्तावकै बेला राजीनामा दिएर एमाले छाडेका थिए । यस्तै, कपिलवस्तुका दीर्घनारायण पाण्डेले संसदबाट राजीनामा दिएर पार्टी परित्याग गरेकाले पनि उनलाई घाटा लागेको छ । अहिले उनले विमलाबाट धोका पाएका छन् ।

केन्द्रको पार्टी राजनीतिमा चतुर देखिएका पोखरेल आफ्नो मुख्यमन्त्री कार्यकाल पूरा गर्न नपाउने अवस्थामा पुगेका छन् । अब उनको सरकार जोगिन निकै कठिन देखिएको छ । सरकारमा सहभागी जसपाका ३ सांसदको मुद्दा किनारा नलागे पाेखरेलकाे सरकार २७ गते सरकारपछि नरहने खतरा छ । यद्यपि राजनीति भनेको सम्भावनाहरुको खेल हो । एक जना मात्रै विपक्षी गठबन्धनको सांसदलाई प्रभावमा पार्न सके सरकार जोगिन पनि सक्छ ।

 

प्रतिक्रिया

One thought on “विमला वलीः श्रीमानको मृत्युपछि राजनीतिमा, सरकार ढाल्न निर्णायक

  1. यहि एक पटक सांसद छन्जेल हो, भलै ओली मा खराबी होला, यहि बाहाना मा मन्त्री बन्न नपाएर अहिले एमाले भित्र ओली को रिस ले अराजक देखिएका जुन प्रवृत्ति का सांसद छन् यो लोकतन्त्र को लागि घातक हो जुन सुकै पार्टी किन नहोस् लोकतन्त्र रछा को लागि आगामी दिनमा कम्तीमा पनि सांसद को टिकट दिंदा बिचार पुर्याउनु पर्ने देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर