२१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त – Nepal Press

२१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।

३४ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता जुलाई १ देखि सकिएको थियो । ब्राजिलमा कोपा अमेरिका जारी रहँदा आधा तलव घटाएर मेस्सी बार्सिलोनामै रहन सहमत भएको बताइएको थियो । तर अन्तिममा ला लिगाको नियम उल्लंघन हुनसक्ने भएकाले दुवै पक्षले चाहे पनि सम्झौता हुन नसकेको बार्सिलोनाको वक्तव्यमा उल्लेख छ ।

‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्न मनसाय रहे पनि यो हुन सकेन ।’

बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । साथै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लाग शुभकामना दिएको छ ।

‘यस्तो अवस्था आउनुमा हामी दुवै पक्षलाई नराम्रो लागेको छ । हामी खेलाडीलाई भविश्यको शुभकामना दिन चाहन्छौं र उनको कमी बार्सिलोनामा सधैं रहिरहनेछ,’ क्लबले भनेको छ ।

बार्सिलोनाले विहीबार नयाँ सम्झौताको तयारी गरिरहेको थियो । किनभने सोही दिन मेस्सी बार्सिलोनामा आबद्ध भएको २१ वर्षगाँठ गियो । र, यो अवस्था आउनुमा क्लबले ला लिगालाई दोष देखाएको छ ।

उनी सन् २०२६ सम्म बार्सिलोनामै रहन सहमत भएका थिए । तर ला लिगाले मेस्सी वा अन्य नयाँ खेलाडीसँग सम्झौता गर्नुअघि पारिश्रमिक घटाउनुपर्ने अडान राखेको थियो ।

‘बार्सिलोना र मेस्सीबीच आज सम्झौता हुँदै थियो । तर ला लिगाको आर्थिक र संरचनागत नियमका कारण हामी नयाँ सम्झौतामा हस्ताक्षर गर्न सकेनौं,’ क्लबले भनेको छ, ‘क्लबमा रहेर उनले गरेको योगदानप्रति हामी मनैदेखि आभार व्यक्त गर्छौं । र उनको व्यवसायिक जीवनका लागि शुभकामना दिन चाहन्छौं ।’

२१ वर्ष बार्सिलोनामा रहँदा मेस्सीले क्लवका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले बार्सिलोनालाई १० पल्ट ला लिगा च्याम्पियन बनाएका छन् भने चारपल्ट च्याम्पियन्स लिगा सातपल्ट, कोपा डेल रे दिलाएका छन् । उनले प्रतिष्ठित बेलोन डी’ओर अवार्ड ६ पल्ट जितेका छन् ।
मेस्सीलाई बार्सिलोनामै राख्नका लागि अध्यक्ष जोआन लापोर्टाले हदैसम्मको प्रयास गरेका थिए । सम्झौताका लागि तयारसमेत गरेका थिए ।

मेस्सी सन् २००० देखि बार्सिलोनाकाे युवा एकेडेमी ला मासियामा आवद्ध थिए । २१ वर्षपछि उनी  क्लवबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर