कांग्रेस बैठक निष्कर्ष विहीन, दुवै पक्ष आ-आफ्नै अडानमा – Nepal Press

कांग्रेस बैठक निष्कर्ष विहीन, दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानबारे कुनैपनि विषयमा सहमति बन्न सकेन ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता डा. मिनेन्द्र रिजाल र क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखक सहभागि थिए । बैठकको बीचमा उपसभापति विमलेन्द्र निधि र सह महामन्त्री डा. प्रकाशशरण महतलाई पनि बोलाइएको थियो ।

बैठकमा संस्थापन पक्षले समायोजन र नवीकरणबारे टुंगिसकेको विषयमा नयाँ विवाद झिकिएको दावी गरे । संस्थापनइतर पक्षका नेताहरुले भने समायोजन र नवीकरणको नाममा स्थानीय समितिलाई जानकारी नै नभएको नाम इन्ट्री भएको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्यालयमा इन्ट्री भएको सदस्यता नवीकरण, नयाँ र समायोजनको सूची हेर्न पाउनुपर्ने माग गरेका थिए । संस्थापन पक्षले नयाँ सदस्यताबारे देखिएका विवाद मिलाउन सकिने तर समायोजनको विषय टुंगिसकेको अडान लिएपछि बैठक निष्कर्ष विहीन भएको हो ।

‘आजको बैठकमा कुनै निष्कर्ष निस्किएन । शीर्ष नेताहरुबीच गम्भीर ढंगले छलफल भयो तर दुवै पक्षको अडान यथावत रह्यो’, बैठकमा सहभागि एक नेताले नेपाल प्रेससंग भने ।

कांग्रेस पदाधिकारी बैठकले गत साउन १४ गते ५ दिनभित्र क्रियाशील विवाद टुंग्याएर नयाँ महाधिवेशन कार्यतालिका बनाउने सहमति गरेको थियो । सो सहमति अनुसार क्रियाशील विवाद टुंगिन नसकेपछि कांग्रेस महाधिवेशन अझै अनिश्चित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर