भाग्यमानी रुपन्देही: सरकारैपिच्छे शक्तिशाली मन्त्री – Nepal Press

भाग्यमानी रुपन्देही: सरकारैपिच्छे शक्तिशाली मन्त्री

कहिले–कहिले, को–को, कुन–कन मन्त्री बने ?

रुपन्देही । रुपन्देही एउटा यस्तो जिल्ला हो, जसले २०६२/६३ सालको जनआन्दोलनपछि बनेका हरेक केन्द्रीय सरकारमा शक्तिशाली मन्त्रालय पाएको छ । सरकारमा मात्रै होइन, देशका ठूला दलको केन्द्रीय नेतृत्वमा पनि यहाँका नेताहरुको प्रभाकारी भूमिका छ । सरकारमा निरन्तर प्रतिनिधित्वले यहाँको विकासले पनि फड्को मारेको छ ।

ओली नेतृत्वको सरकारमा उपप्रधान, गृह तथा अर्थ मन्त्रालयको जिम्मेवारीमा भएका विष्णु पौडेल थिए भने नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । पौडेल र खाँण दुवै पार्टीको शीर्ष नेतृत्वमा रहेका छन् ।

२०६२/०६३ पछि को–को बने मन्त्री ?

२०६२/०६३ को जनआन्दोलनपछि हरेक सरकारमा रुपन्देहीबाट मन्त्री बनेका छन् । जनआन्दोलनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रूपन्देहीबाट एमालेका नेता छविलाल विश्वकर्मा कृषि तथा सहकारी मन्त्री बनेका थिए । उनी अहिले पनि रूपन्देही क्षेत्र नम्बर १ बाट पनि निर्वाचित सांसद हुन् ।

संविधानसभाको पहिलो निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा रुपन्देहीका बालकृष्ण खाँण सिञ्चाइमन्त्री बने । त्यसपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा पनि पौडेल रक्षामन्त्री भए ।

पौडेलसँगै रुपन्देहीबाट माओवादी नेता हकीउल्लाह खाँ राज्यमन्त्री बने । त्यस्तै एमाले नेता घनश्याम भुसाल विनाविभागीय मन्त्री बने । खनालपछि तत्कालीन माओवादीका वरिष्ठ नेता रहेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ओमप्रकाश यादव ‘गुञ्जारी’ मन्त्री बने ।

पहिलो संविधानसभा विघटनपछि मन्त्रपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारमा पनि रुपन्देहीका रामप्रसाद न्यौपाने मन्त्री बने । संविधानसभाको दोस्रो निर्वाचनपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा रुपन्देहीकी राधा ज्ञवाली ऊर्जामन्त्री बनिन् ।

कोइरालापछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा रुपन्देहीकै खाँण फेरि रक्षामन्त्री बनेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा स्वास्थ्यमन्त्री बने । त्यस्तै कांग्रेस जिल्ला सभापति तत्कालीन संविधान सभा सदस्य अब्दुल रज्जाक खानेपानी राज्यमन्त्री बने ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनपछि फेरि ओली नेतृत्वको सरकारमा नेता घनश्याम भुसाल कृषि मन्त्री तथा विष्णु पौडेल अर्थमन्त्री बने । पछिल्लो केही समययता पौडेलले उपप्रधान, अर्थसँगै केही समय गृह, ऊर्जालगायत मन्त्रालय सम्हालेका थिए ।

पार्टीको शीर्ष नेतृत्वमा सहभागिता

एमालेमा उपामहासचिवमा विष्णु पौडेल, घनश्याम भुसाल छन् । एमाले र माओवादी एकतापछि बनेको नेकपाको शक्तिशाली महासचिवको जिम्मेवारीमा नेता विष्णु पौडेल थिए । पौडेल सो पार्टीको संस्थापन पक्षका बलियो प्रतिनिधि हुन् भने भुसाल नेपाल समूहको बलिया प्रतिनिधि हुन् ।

अहिले गृहमन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी सभापति शेरबहादुर देउवाको प्रिय पात्र हुन् । नेविसंघको अध्यक्ष, तरुण दलको अध्यक्ष भइसकेका उनी तीन दशकभन्दा पहिलेदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । अहिले पनि उनी प्रतिनिधिसभामा प्रमुख सचेतकको भूमिका छन् ।

यसैगरी राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा र जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला पार्टीको शीर्ष तहमा छन् । आफ्नो पार्टीका हरेक निर्णयमा उनीहरुको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

केन्द्रीय राजनीतिमा यहाँबाट तुलनात्मक हिसाबले कमजोर सहभागिता रहेको माओवादी केन्द्रमा हो । यहाँबाट नेता हकिउल्लाह खाँ, वामदेव क्षेत्री माओवादीको केन्द्रीय तहमा छन् ।

त्यसैगरी कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राधा ज्ञवालीलगायतले केन्द्रमा प्रतिनिधित्व गर्छन् । अहिले पनि कांंग्रेस नेता शाह लेखा समिति सभापतिको जिम्मेवारीमा रहेका छन् भने एमाले नेता विश्वकर्मा पोलिटब्युरो सदस्य हुन् । उनीहरु पटक–पटक मन्त्री भइसकेका छन् ।

पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले पार्टीमा प्रभाव राख्ने नेताहरू रुपन्देहीमा धेरै रहेकाले यस्तो भएको धारणा राख्छन् । ‘लगातार चार दशकदेखि यहाँका नेताहरुको निरन्तर सहभागिता छ, यो रुपन्देहीका लागि राम्रो हो, अझै विकासमा भएको साझेदारीले राम्रो सन्देश दिएको छ’, उनले भने ।

‘रुपन्देही राजनीतिको केन्द्र बनेको प्रष्ट देख्न सकिन्छ, सबै दलको केन्द्रीय पहुँचमा यहाँको प्रतिनिधित्व भएको छ । यसले रूपन्देहीको पहुँच बढी देखिन्छ ।’ पहाडीले भने ।

दलीय हिसाबले आफ्ना आफ्ना विचार बोकेर हिंड पनि ठूला र विकासे योजनामा केन्द्रीय तहमा रहेका नेताहरुले साझेदारी गरेका छन्, जसकारण यहाँको विकासले पनि ति लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर