टीम देउवा: यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’ – Nepal Press

टीम देउवा: यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्री प्रधानमन्त्रीको सपथग्रहण गरेका देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

कोभिड १९ को कहर र राजनीतिक गतिरोधका बीच सर्वोच्च अदालतको परमादेशबाट देउवाको सत्तारोहण सम्भव भएको छ । संविधान र लोकतन्त्र जोगाउनका लागि भनिएको ‘विपक्षी गठबन्धन’ को सत्तारोहणसंगै देउवा सरकारका चुनौतीको मूल्यांकन पनि सुरु हुनेछ ।

संविधानतः ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती एकातिर छँदैछ, अर्कोतिर कोरोना सिर्जित समस्याबाट जनतालाई तत्काल राहत दिनुपर्नेछ । गठबन्धन सरकार भएका कारण सहयात्री दलहरुलाई रिझउनुपर्ने प्रधानमन्त्रीको जिम्मेवारी छँदैछ ।

यहीकारण मन्त्रिपरिषदले पूर्णता पाउनै अझै केही समय लाग्ने देखिन्छ । सरकारमा सहभागिता र शक्ति बाँडफाँटका विषयमा गठबन्धनमा थप सहमति जुट्नै बाँकी छ । यद्यपि तत्कालका लागि चार जना सारथिसहित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाका सारथि को कस्ता छन् त ?

विश्वासिला बालकृष्ण

बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन् । देउवाको लामो राजनीतिक यात्रामा विश्वासिलो सहयोगीका रुपमा रहेका खाँड कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्रीको भूमिका निर्वाह गरेका खाँड माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिचाइँ मन्त्री बनेका थिए ।

गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका खाँडलाई गृहमन्त्री बनाएर देउवाले चुनावी तयारीमा विश्वासिलो साथ समेत खोजेका हुन् । विश्वासको मत हासिल नभए तत्काल निर्वाचनमा जानुपर्ने र विश्वासको मत पाएपनि अर्को वर्ष स्थानीय र प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने दायित्व सरकारसामू छ । त्यसका लागि खाँडले प्रशासन र प्रहरीलाई नेतृत्व दिनुपर्ने देखिन्छ ।

नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका खाँडले २०७० सालको संविधानसभा निर्वाचनमा रुपन्देही ३ मा एमालेका घनश्याम भूसाललाई पराजित गरेका थिए ।

अर्थमा अनुभवी

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०६४ सालयता निरन्तर आम निर्वाचन जित्ने माओवादी नेता हुन् । माओवादी सेनाका तत्कालीन डेपुटी कमाण्डर शर्मा धेरैपटक मन्त्री बन्ने माओवादी नेतामध्येमा पर्छन् । विगतमा शर्माले शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा ऊर्जा मन्त्री रहेकै बेला लोडसेडिङ अन्त्य भएको थियो । अर्थ मन्त्रालय शर्माका लागि नयाँ जिम्मेवारी हो । कोभिडबाट थलिएको अर्थतन्त्रलाई मूलधारमा ल्याउने र आर्थिक मितव्ययिता कायम गराउने चुनौती शर्मामाथि छ ।

ऊर्जामा कमरेड विद्युत

भूमिगत रहँदा नेकपा माओवादी नेतृ पम्फा भूसाल ‘कमरेड विद्युत’को नामले परिचित थिइन् । उनै कमरेड विद्युत देउवा सरकारमा ऊर्जा मन्त्री बनेकी छिन् ।

ठूला विद्युत आयोजनाको सम्पन्न गराउने, प्रसारण लाइन विस्तार गर्ने तथा ऊर्जा क्षेत्रका यावत समस्या सम्बोधन गर्ने चुनौती भूसालमाथि छ । पहिलो संविधानसभा र गत संसदीय निर्वाचनमा ललितपुरबाट निर्वाचित भूसाल लोकतन्त्र प्राप्तिपछिको अन्तरिम सरकारमा महिलामन्त्री बनेकी थिइन् ।

जनमोर्चा नेपालको अध्यक्षसम्म भइसकेकी भूसाल माओवादी केन्द्रको प्रवक्तासमेत हुन् ।

कानूनमा ज्ञानेन्द्र

देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री छँदा बहुचर्चित एमसीसी सम्झौतामा नेपालको तर्फबट हस्ताक्षर गरेका कार्कीसामू कानून मन्त्रीका रुपमा सो सम्झौता संसदबाट अनुमोदन गराउनुपर्ने चुनौती कार्कीसामु छ ।

एमसीसीबारे गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाउनुपर्ने अवस्था छ । विगतमा जलस्रोत मन्त्रीसमेत भइसकेका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसमा स्थापित भएका नेता हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित कार्की त्यसअघि भोजपुरबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया

One thought on “टीम देउवा: यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

  1. सबै TESTED हुन् । यिनीहरुबाट परिवर्तनको कुनै आशा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर