बादल समूहलाई पूर्ववत जिम्मेवारी दिइने, १० बुँदे सहमतिमा रघु पन्तबाहेक अरुको हस्ताक्षर – Nepal Press

बादल समूहलाई पूर्ववत जिम्मेवारी दिइने, १० बुँदे सहमतिमा रघु पन्तबाहेक अरुको हस्ताक्षर

काठमाडौं । नेकपा एमालेमा एकताका लागि गठित कार्यदलमा लामो छलफलपछि आज अबेर १० बुँदे सहमति जुटेको छ । सहमतिअनुसार पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु अब नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम २०७५ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने भएका छन् ।

यसैगरि २०७७ साल फागुन २४ गतेको अदालतको फैसलाबाााट एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था र एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक तथा संगठनात्मक काम–कारवाहीहरु स्वतः बदर भएको सहमतिपत्रको तेस्रो बुँदामा उल्लेख छ ।

नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुले पूर्ववत जिम्मेवारी नै पाउने भएका छन् । नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको सहमतिमा उल्लेख छ । अन्य नेताहरुलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठिन गरिने भनिएको छ ।

यस्तै पार्टीमा महत्वपूर्ण योगदान गरेकाहरुलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने उल्लेख छ ।

प्रतिनिधिसभाको विघटन सम्वन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप अघि बढ्ने जनाइएको छ ।

आज भएको १० बुँदे सहमतिमा माधव नेपाल पक्षका रघुजी पन्तले हस्ताक्षर गरेका छैनन् । उनले भोली हस्ताक्षर गर्ने भनेर पन्छिएको स्रोतले बतायो ।

प्रतिक्रिया

2 thoughts on “बादल समूहलाई पूर्ववत जिम्मेवारी दिइने, १० बुँदे सहमतिमा रघु पन्तबाहेक अरुको हस्ताक्षर

    1. कार्यदलको अन्तिम निष्कर्ष :
      नेकपामा जीवन दिएका धेरै नेता कार्यकर्ता एमाले नै बन्ने शुनिश्चित भएछ । बधाई शुभकामना !!

      केही व्यक्तिहरूले अरू कसैको सरणमा जाने संकेत देखियो !
      त्यो पनि व्यक्तिगत स्वतन्त्रता हो वा लेन-देनको वाध्यता !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर