हाइटीको राष्ट्रपति कार्यालयका नेपाली अधिकारी भन्छन् : यहाँ अहिले सरकार, सेना, संसद केही छैन – Nepal Press

हाइटीको राष्ट्रपति कार्यालयका नेपाली अधिकारी भन्छन् : यहाँ अहिले सरकार, सेना, संसद केही छैन

१७ वर्षदेखि हाइटीको राष्ट्रपति कार्यालयमा सञ्चार अधिकृतको रुपमा कार्यरत छन् नेपाली नागरिक शान्ति पौडेल । उनले दुई दिनअघि हत्या गरिएका राष्ट्रपति जोभेनल मोइजेसहित पाँचजना राष्ट्रपतिसम्म सँगै काम गरे ।

राष्ट्रपतिको हत्यापछि उत्पन्न राजनीतिक संकटलाई नजिकबाट नियालिरहेका छन् पौडेल । असार २३ गते हाइटीका राष्ट्रपति जोभेनल मोइजेलाई बन्दुकधारीले उनकै निजी निवासमा पसेर हत्या गरेका थिए । बन्दुक आक्रमणमा राष्ट्रपतिको घटनास्थलमै मृत्यु भयो भने प्रथम महिलाको अहिले अमेरिकामा उपचार भैरहेको छ । संसद र सरकारबिहीन हाइटीमा अहिले संकटकालकै झल्को दिने गरी परिस्थिति छ ।

हत्या पछाडि अन्तर्राष्ट्रिय सुटरहरुको संलग्नता रहेको बताइन्छ । अहिले हाइटीको अवस्था कस्तो छ ? राजनीतिक भविष्य कसरी उन्मुख होला ? सेभ द चिल्ड्रेन नियोगमार्फत अमेरिका हुँदै हाइटी पुगेका पौडेलसँग त्यहाँको ताजा परिस्थितिबारे गरिएको संवादः

घटना हुँदा कहाँ हुनुहुन्थ्यो ?

घटना हुँदा म भर्खर घरमा आइपुग्या थिएँ । हाम्रो पे्रसको मिटिङ थियो । नयाँ प्रधानमन्त्रीको सपथ कहाँ गर्ने र कसरी गराउने भन्ने मिटिङ थियो । म घर पुग्दा रातिको साढे १२ बजेको थियो । साढे १ बजे राष्ट्रपतिको त घरमै हत्या भयो भन्ने फोन आयो ।

कसले हत्या गरेको अनुमान छ ?

मार्ने चाहिँ अन्तर्राष्ट्रिय सुटरहरु हुन् उनीहरुले पहिले पनि माइकिङ नै गरेर मारेका थिए । अन्तर्राष्ट्रिय सुटरहरुले नै त्यो गरेका हुन् ।

विपक्षी दलहरुले गरेको हुनसक्ने सम्भावना कति छ ?

विपक्षी दलहरुले गरेको भन्ने कुरा यहाँ छैन । कसले गरेको हो भन्ने कुरा नै प्रष्ट भएको छैन । अनुमान गर्न सकिने अवस्था छ अहिले । हाइटीको इतिहासमा राष्ट्रपतिलाई मारिएको यो पाँचौ घटना हो । यसअघि चारजना राष्ट्रपतिलाई पनि यसैगरी मारेका थिए । यसअघिका घटना पनि कसले मारेको भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

हाइटीको अहिलेको ताजा अवस्था कस्तो छ ?

सबै जनता अहिले घरभित्रै बसिरहेका छन् । एकछिनमा के हुन्छ र देश कसरी अगाडि बढ्छ भन्ने कुरा थाहा छैन । बाउआमा टुहुरा भएका बालबालिका बाहिर ननिस्किएजस्तै भएको छ यहाँ । राष्ट्रपति छैन, मन्त्रिमण्डल छैन ।

संसद पनि गतवर्ष राष्ट्रपतिले विगठन गरेका थिए । संसद विगठन गरेर सबै शक्ति आफूले लिएको हो । न त पार्लियामेन्ट छ, न त के छ । अहिले कसैसँग पनि छैन सत्ता । प्रधानमन्त्रीले कार्यकारी हैसियतमा नयाँ मन्त्रिमण्डल गठन गर्दैछन् आज । अहिलेसम्म देश पावरविहीन छ ।

राष्ट्रिय सेना र अन्तर्राष्ट्रिय समुदायको भूमिका के छ अहिले ?

अन्तर्राष्ट्रिय समुदायको भूमिक शुन्य छ । संयुक्त राष्ट्रसंघको भूमिका अहिले यहाँ छैन । नेपालको शान्ति सेना यहाँबाट गएको चार वर्ष भैसक्यो ।

भूकम्पबाट रिकभर भएको छ कि छैन अहिले ?

भूकम्पबाट अहिलेसम्म हाइटी रिकभर भएको छैन । भुइँचालोले भत्किएको राष्ट्रपति कार्यालय अहिलेसम्म पुननिर्माण भएको छैन । केही प्रोसेस त सुरु भएको छ तर, उल्लेखनीयरुपमा भएको छैन ।

अहिले सञ्चार सम्पर्क विच्छेद हुने अवस्था र आपतकालीन परिस्थिती कस्तो छ ?

अहिले संकटकालकै परिस्थिती छ । टेलिफोन उपलब्ध छैन । फोन र इन्टरनेट निकै सीमित छ । कर्मचारीलाई केही हदसम्म सुविधा भएपनि नागरिकलाई संचार सम्पर्क गर्न मुस्किल छ । रेडियो, टेलिभिजन पनि सबै बन्द छन् अहिले । मिडियाले समाचार दिन पाएका छैनन्, गीत मात्र बजाएर बस्या छन् ।

नेपालमा दरबार हत्याकाण्डको जस्तो परिस्थिति हो ?

परिस्थिती त्यही नै छ । सबै त्यही छ । दरबार हत्याकाण्डको बेला प्रहरी आर्मी थिए । तर, अहिले यहाँ त्या पनि छैन । आर्मी छैन । १५ हजार पुलिसले के गर्न सक्छन् र ?

राष्ट्रसंघले केही पहल लिन सक्छ ?

अन्तर्राष्ट्रिय समुदायले सबै राष्ट्रसंघकै सूचनाको आधारमा काम गरिरहेका छन् । आज मिटिङ छ र के हुन्छ भन्ने कुरा दिउँसो थाहा हुन्छ ।

राष्ट्रपतिको हत्यापछि उनको पार्टीका समर्थकले आगजनी गर्ने, हिंसा मच्चाउने काम गरेका छन् कि छैनन् ?

अहिलेसम्म त्यस्तो हिंसा छैन । सबैजना अहिले सतर्क भएर भोलि के हुन्छ त भनेर पर्खिएका छन् ।

जुन राष्ट्रपतिसँग तपाईंले काम गर्नुभयो । उनको परिवारहरु अहिले कहाँ छन् ?

उहाँको श्रीमतीलाई गोली लागेपछि तुरुन्त हवाइजहाजमार्फत अमेरिका लगिएको छ । उहाँ अहिले अमेरिकाको हस्पिटलमा हुनुहुन्छ । उहाँको अवस्था चिन्ताजनक नै छ । बच्चाहरु हाइटीभन्दा बाहिर छन् ।

तपार्इंलाई नेपाल फर्किन पाए हुन्थ्यो जस्तो लाग्छ त ?

म अहिले यहीँ नै सेटल भएको छु । नेपाल आउने जाने भैरहन्छ । मेरो आफ्नो सेकेन्ड होमजस्तो भएको छ । म यहीँको नागरिकजस्तै भएँ । सबैजना परिवार यहीँ छौं ।

नयाँ राष्ट्रपति र सरकार बनेपछि तपाईंको भूमिका के हुन्छ ?

पहिले जस्तो काम हुन्थ्यो, सोहीअनुसार काम गर्ने हो । पब्लिक रिलेसनको रुपमा कसरी अघि बढ्ने भन्नेमै केन्द्रित हुनेछु । यहाँ चाहिँ एकदम एड्भाइस लिने हुन्छन् । उनीहरुले काम गर्दा निष्कर्ष निकालेर मात्रै गर्छन् ।

हाइटीको राजनीतिक भविष्य कता जाला ?

शान्ति सेना आउला वा नआउला भन्ने कुरा आज थाहा हुन्छ । राष्ट्रसंघको कार्यालयले जसरी निष्कर्ष निकाल्छ, त्यसरी नै हुन्छ । अब अन्तरिम सरकार बनाउने कि चुनाव गराउने भन्ने कुरा हुन्छ । यो कुरा राष्ट्रसंघको निर्णयमा भर पर्छ ।

नेपाल र नेपालीप्रति हाइटीमा छाप कस्तो छ ?

नेपालबारे हाइटीमा राम्रो छवि छ । नेपालमा भूकम्प जाँदा मेरै पहलमा हाइटीको सरकारबाट २ मिलियन डलर रेडक्रसमार्फत सरकारलाई दिएका थियौं । हाइटीका जनताले नै सडकमा पैसा उठाएर नेपालमा पैसा पठाएका थिए ।

हाइटीमा भूकम्प जाँदा पहिलोपटक सहयोगमा अग्रसर भएको नेपाली सेना हो । यसकारण हाइटीमा एउटा आदर छ नेपालीप्रति । नेपाली सेनाप्रति यहाँको जनताप्रति उच्च सम्मान छ । तर, बीचमा हैजाको कारणले नेपालको नाम बदनाम भयो । बिग्रिएको नेपालको छविलाई हामीले मिहेनत गरेर सुधारेका छौं । यसमा सेना, प्रहरी र सशष्त्र सबैको योगदान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर