थप दुई चिनियाँ खोपले मागे नेपालमा प्रयोग अनुमति – Nepal Press

थप दुई चिनियाँ खोपले मागे नेपालमा प्रयोग अनुमति

डब्लुएचओले मान्यता दिएका खोपलाई सीधै नेपाल भित्र्याउन पाइने

काठमाडौं । कोभिड-१९ विरुद्धका थप दुई चिनियाँ खोपले नेपालसँग आपतकालिन प्रयोगका लागि अनुमति मागेका छन् । औषधि व्यवस्था विभागका अनुसार चीनको क्यानसिनो खोप र तेस्रो चरणको ट्रायलमा रहेको अर्को एक खोपले अनुमति मागेका हुन् ।

नेपालले चीनको साइनोफार्मसँग नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेर ल्याउन लागेपछि ती दुई चिनियाँ खोपले विभागसँग सोधखोज गरेका हुन् ।

विभागका सूचना अधिकारी सन्तोष केसीले क्यानसिनो खोपसँग आपतकालिन प्रयोगबारे कागजपत्र र सूचना मागिएको बताए । यसअघि विभागले डब्लुएचओले मान्यता दिने खोपलाई सीधै भित्राउने निर्णय गरेको थियो ।

बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले चिनियाँ सेनाको सैन्य स्वास्थ्य प्रतिष्ठानसँग मिलेर क्यानसिनो खोप विकास गरेको हो । चीनको सैनिकलाई उक्त खोप प्रयोग गर्न अनुमति दिइएको छ ।

क्यानसिनोले अर्जेन्टिना, चिली, हंगेरी, इक्वेडर, मलेसिया, मलडोभा, पाकिस्तान र मेक्सिकोमा आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ । सोधखोज भएको अर्को चिनियाँ खोप भने तेस्रो चरणको परीक्षणमै रहेको जनाइएको छ ।

अहिलेसम्म नेपालले चीनमा विकास भएको भेरोसेल र सिनोभ्याक, भारतमा उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन तथा रुसको स्पतुनिक पाँच खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिएका खोपलाई सीधै नेपाल भित्राउन सकिने निर्णय विभागले गरेको छ । यसअघि विभागबाट अनुमति पाइसकेपछि मात्रै खोपहरु नेपाल भित्राउन पाइने व्यवस्था थियो ।

डब्लुएचओले आपतकालिन प्रयोगका लागि २१ वटा खोपलाई अनुमति दिएको छ जसमा आस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन, मोर्डना, सिनोफार्म र सिनोभ्याकका खोप छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *