कपिलवस्तु कांग्रेस: आचार्य देउवा पक्षका एक्ला दाबेदार, पौडेल पक्षमा आकांक्षी धेरै – Nepal Press

कपिलवस्तु कांग्रेस: आचार्य देउवा पक्षका एक्ला दाबेदार, पौडेल पक्षमा आकांक्षी धेरै

रुपन्देही । नेपाली कांग्रेस कपिलवस्तुको नेतृत्वका लागि अहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कार्यकर्तालाई आफ्नो पक्षमा पार्न गाउँगाउँ पुग्न थालेका छन् ।

कांग्रेस नेता दीपकुमार उपाध्यायको गृहजिल्ला कपिलवस्तुमा पनि केन्द्रको समीकरण हेरेर नेताहरुले गुट बदल्ने र आफू सुरक्षित हुने योजना बनाइरहेका छन् । केन्द्रमा एउटा समूहमा जोडिएकाहरु पनि जिल्लामा फरक गुटमा जोडिन पुगेका छन् ।

कपिलवस्तुमा देउवा समूहबाट नेता राजेश आचार्य सभापतिका आधिकारिक उम्मेदार बन्ने संभावना धेरै रहेको उनीनिकट नेताहरु बताउँछन् ।
‘लामो समय पार्टीमा काम गरियो, अब नेतृत्वका लागि मैदानमा जाने निर्णय गरेको छु, मैले आफ्नो समूहमा आधिकारिक कुरा प्रष्टसँग राखेको छु’, उनले नेपाल प्रेससँग भने ।

त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट केशव श्रेष्ठ, अब्दुल कलाम, सुधाखर पाण्डेयले सभापति हुने रहर व्यक्त गरेपछि उम्मेदवार छान्न सकस परेको बुझिएको छ । श्रेष्ठ बुद्धभूमि नगरपालिका र कलाम महाराजगन्ज नगरपालिकाका मेयर भएकाले पनि पाण्डेयलाई अगाडि सार्न दवाव छ । तर उनीहरुमध्ये अहिलेका पार्टी सभापति सुरेन्द्रराज आचार्यले जसको पक्ष लियो, उसैले पौडेल समूहबाट टिकट पाउनेछ ।

सुरेन्द्र दुई कार्यकाल सभापति भइसकेकाले अब अन्य जिम्मेवारीमा जाने योजनामा छन् । ‘पार्टीमा निरन्तर लागेपछि नेतृत्वमा जाने रहर कसलाई हुँदैन र ? धेरै साथीहरुले नेतृत्वमा आउनुपर्छ भनिरहनुभएको छ, अहिलेका सभापतिको व्यवस्थापन गरेपछि म अगाडि बढ्छु’, उनले भने ।
कपिलवस्तुबाट केन्द्रीय समितिमा नेता दीपकुमार उपाध्याय दोहोरिने निश्चित छ । उनीसँगै अहिले पनि पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा रहेका अभिषेकप्रताप शाह पनि उठ्नेछन् ।

त्यसैगरी लुम्बिनी प्रदेशसभामा पार्टीको संसदीय दलका नेता रहेका वीरेन्द्र कनौडिया, अतहर कमालले पनि केन्द्रीय सदस्यका लागि मैदानमा जाने बताइसकेका छन् । यससँगै महिला नेतृहरु सुमित्रा शर्मा, विमला गैरे, इन्दिरा गैरे केन्द्रमा जान खोजे पनि प्रदेशमा राख्न खोजिएका ती समूहका नेताहरुले बताएका छन् । कपिलवस्तुबाट केन्द्रमा जान खोजेका मध्येबाट प्रदेशको संयन्त्रमा राख्न पनि नेता दीपकुमार उपाध्यायले पहल गरिरहेका छन् ।

कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर