कांग्रेस कैलाली नेतृत्वका लागि सरगर्मी बढ्यो, रावलदेखि देउवासम्मको दावी – Nepal Press

कांग्रेस कैलाली नेतृत्वका लागि सरगर्मी बढ्यो, रावलदेखि देउवासम्मको दावी

कैलाली । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिँदै जाँदा कैलालीमा पार्टी नेतृत्वको लागि सरगर्मी सुरु हुन थालेको छ ।

सुदूरपश्चिमकै बढी जनसंख्या भएको कैलालीमा ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र छन् । वर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु)ले दोस्रो कार्यकाल पूरा गरेका कारण विधानतः जिल्ला सभापतिका दौडबाट बाहिरिएका छन् ।

त्यसबाहेक कैलाली कांग्रेसको नेतृत्व लिन डा.रणबहादुर रावल, प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह , दिनेशराज जोशी र गणेश देउवा लगायतले तयारी तीव्र बनाएका छन् ।

डा. रावल सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता हुन् । विगतमा उनले केन्द्रीय सदस्यमा समेत प्रतिस्पर्धा गरिसकेका छन् । त्यस्तै बडुवाल अघिल्लो महाधिवेशनमा पराजित नेता हुन् । हाल कैलाली कांग्रेसको उपसभापति रहेका बम आफूलाई स्वभाविक दावेदार मान्दछन् । पार्टीको महासमिति सदस्य रहेका भट्ट २०६२–६३ को जनआन्दोलनका घाइते समेत हुन् । थारु समुदायको पकड रहेको कैलालीमा सोही समुदायका नेता खेमराज चौधरीलाई पनि बलियो दावेदारका रुपमा लिइएको छ ।

कैलाली कांग्रेसको नेतृत्वको सवाल जिल्लाको राजनीतिसंग मात्रै जोडिएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवाको विशेष चासो कैलालीमा रहेको छ ।

आरजुलाई गत निर्वाचनमा असहयोग गरेको आरोपमा कारवाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको भूमिका पनि अधिवेशनमा निर्णायक नै हुनेछ । खासगरी आरजु र ओझाबीचको राजनीतिक लडाईका रुपमा कैलाली अधिवेशन रहनेछ ।

कांग्रेस महाधिवेशनका लागि प्रकाशित निर्वाचन कार्यतालिका अनुसार कैलालीको अधिवेशन आगामी साउन २६ गते हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर