परराष्ट्र मन्त्रालय सम्हालेपछि ओलीले भने : हामी एकअर्का छिमेकीविरुद्ध कार्ड खेल्दैनौं – Nepal Press

परराष्ट्र मन्त्रालय सम्हालेपछि ओलीले भने : हामी एकअर्का छिमेकीविरुद्ध कार्ड खेल्दैनौं

सार्क सम्मेलन आयोजना गर्न नेपाल तयार, ईपीजी कार्यान्वयन नहुँदा असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओलीले नेपालले दुई छिमेकी मुलुक चीन र भारतविरुद्ध एकअर्काको कार्ड नखेल्ने प्रष्ट पारेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा शुक्रबार बोल्दै उनले नेपालले इमान्दार र सन्तुलित सम्बन्ध चाहेको बताए ।

नेपालले ‘सार्वभौम समानता’को परराष्ट्र नीति आत्मसात गरिरहेको बताउँदै प्रधानमन्त्रीले यो नीतिले छिमेकीसँगको असमझदारी समेत हटाउने बताए । ‘हामी छिमेकीसँग सन्तुलित सम्बन्ध बनाउन चाहन्छौं । हामी कूटनीति भनेर चलाखीले काम लिन चाहँदैनौं’ उनले भने ।

विदेशी मित्रराष्ट्रसँग जुध्ने भन्दा मित्रताको नीति लिएर अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता’ नचाहेको बताए । ‘विश्वमा साझा प्रयास केन्द्रित गर्ने कुरामा यो नीतिले वसुधैव कुटुम्बकमको मान्यतालाई पछ्याउँछ’ उनले भने, ‘हामी शान्तिको पक्षमा नीतिहरु तय गर्छौं । अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देशित गर्ने नीतिहरु हामी बनाउँछौं र हाम्रा नीति विश्वमा शान्ति छाउनुपर्छ भन्ने कुराबाट निर्देशित छन् ।’

नेपालले परराष्ट्र नीति तय गर्दा राष्ट्रिय हितलाई मात्र प्राथमिकतामा नराखेको उनको भनाई छ । ‘राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय स्वार्थ केन्द्रित र संकीर्ण हुन्छ । यसले अन्तर्राष्ट्रिय भाइचारालाई समात्न सक्दैन’ उनले भने । नेपालले शान्तिपूर्ण ढंगले सबै समस्याको समाधान चाहेको बताउँदै ओलीले कोभिड महामारी नियन्त्रण र रोकथाममा नेपाल विकसित मुलुकभन्दा अगाडि रहेको बताए ।

सार्क सम्मेलन आयोजना गर्न तयार

प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री ओलीले अन्य मुलुकले सार्क सम्मेलन आयोजना गर्न नसक्ने हो भने नेपाल आयोजनाका लागि तयार रहेको बताएका छन् । उनले भने, ‘हामी सार्कको अध्यक्ष छौं तर सम्मेलन आयोजना गर्न सकिएको छैन । अन्त हुँदैन भने हामी आयोजना गर्छौ सार्क सम्मेलन ।’

उनले अगाडि भने, ‘छिमेक सम्बन्धमा असमझदारी छन् भने हटाउनको लागि हामी शान्तिपूर्ण ढंगले समाधान चाहन्छौं ।’

इपीजी प्रतिवेदन कार्यान्वयन नहुँदा असन्तुष्टि

प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री ओलीले नेपाल र भारतका प्रवुद्ध समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएकामा घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन् । दुई मुलुकबीचका विगतमा भएका सन्धि र सहमति पुनरावलोकन गर्ने सहमति टेबुलमै भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालले परिवर्तित परिस्थितीअनुसार सम्बन्ध चाहेको बताए ।

उनले ईपीजी प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा अगाडि भने, ‘अद्यावधिकरण आवश्यक छ । हरेक करामा आवश्यक छ । सम्बन्धहरु अद्यावधिक गर्नुपर्छ उपयोगी ढंगले संचालन गर्ने हो भने ।’

नेपालको परराष्ट्र नीतिले लय समातेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुद्दालाई लिएर अन्यौलमा नरहेको बताए । एक विदेशी टीभी कार्यक्रममा एकजना पूर्वप्रधानमन्त्रीले छिमेकी मुलुकलाई लक्षित गर्दै माइक्रो म्यानेजमेन्ट नगर्न दिएको अभिव्यक्ति सम्झँदै ओलीले विदेशी हस्तक्षेप निम्त्याउने काम उनीहरुले नै गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘अदालतलाई प्रधानमन्त्री बनाउने थलोमा रुपान्तरण गर्ने हो भने बरु विदेशी हस्तक्षेप हुनसक्छ र हुने गरेको छ । अदालतले कानून र संविधानको मात्र कुरा गर्ने हो । राजनीतिको होइन’ उनले भने ।

कार्यक्रममा ओलीले पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा लिखित पुस्तक ‘ओरिएन्टेसन एन्ड प्रायोरिटिज’ विमोचन समेत गरे । उक्त पुस्तकमा कुनै परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय मंचमा बोलेका कुरालाई सुविचारित ढंगले राखेको भन्दै उनले ज्ञवालीको प्रशंसा गरे ।

ओलीले भने, ‘नेपालको फरिन पोलिसीले लय पक्रिएको छ । हामी कुनै पनि मुद्दाको कन्फ्युजमा छैनौं । यसलाई कसैले मेट्न सक्दैन । पुस्तकमा यी कुराहरु समेटिएको छ ।’

ऋणको पासोमा हामी पर्दैन

ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने समेत बताएका छन् । ‘बाह्य सहयोग जथाभावी लिँदैनौं । आवश्यक परेको ठाउँमा मात्र लिन्छौं । ऋणको पासोमा पर्नेवाला छैनौं’ उनले भने, ‘डेब्ट ट्रयापमा पर्ने किसिमले ऋण लिएका छैनौं । हाम्रा उत्पादनमूलक र रोजगारीका अवसर सिर्जना गर्ने ठाउँमा मात्र ऋण लिएका छौं ।’

कोभिड नियन्त्रण र रोकथाममा नेपाल विकसित मुलुकभन्दा अगाडि रहेको दाबी गर्दै ओलीले मान्छेका लागि अर्थतन्त्रभन्दा पहिला जीवन प्रमुख रहेको बताए ।

नेपाल अल्पविकसितबाट विकासशिल राष्ट्रतर्फ उन्मुख रहेको बताउँदै ओलीले एलडीसीमा ग्राजुएसन भएर दीगो विकास लक्ष्य प्राप्त गर्न सफल हुने समेत बताए । ‘यसमा हाम्रो डिप्लोम्याटिक सामथ्र्य राख्छौं’ उनले भने ।

उनले नेपाल आमविनाशकारी हतियारको पक्षमा नरहेको समेत बताए । ‘हामी हामी रेडियो र आणविक हतियारको पक्षमा छैनौं । तिनको निर्माण, संकलन, संग्रह र स्थानको पक्षमा छैनौं । विश्व शान्तिमा यी कुराहरु कुनै समय खतरनाक हुनसक्छन्’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर