भक्तपुर नगरपालिकाले ल्यायो १ अर्ब ९३ करोडको बजेट, दीर्घरोघीलाई पनि रकम – Nepal Press

भक्तपुर नगरपालिकाले ल्यायो १ अर्ब ९३ करोडको बजेट, दीर्घरोघीलाई पनि रकम

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका हुन् । बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान छ । सोमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।

त्यस्तै वाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कूल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।

बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३.५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २.७३, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४, महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४, युवा तथा खेलकुदको क्षेत्रमा २.४५, कृषिमा १.५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ ।

कोरोनाका कारेण आगामी आवको सुरु ४ महिनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख र सडक बोर्डका योजनालाई १ करोड विनियोजन गरिएको छ ।

दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखी १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७८’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७८’ सभासमक्ष प्रस्तुत गरेकोमा छलफलको लागि स्वीकृत गरेको छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *