१७ जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा थप – Nepal Press

१७ जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा थप

काठमाडौँ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित १७ जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको छ । कतिपय जिल्लामा असार १ गतेदेखि जनजीवनलाई खुकुलो बनाइएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

सरकारले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन सकिने प्रावधान ल्याएको थियो ।

जसअनुसार ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको ढाँचाअनुसार अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए ।

केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *