संघ र प्रदेशमा श्रीमान-श्रीमती दुवै मन्त्री, रघुवीरको घरमा आलोपालो – Nepal Press

संघ र प्रदेशमा श्रीमान-श्रीमती दुवै मन्त्री, रघुवीरको घरमा आलोपालो

काठमाडौं । श्रीमान-श्रीमती राजनीतिमा उत्तिकै सक्रिय हुँदाको फाइदाका पक्ष पनि छन् । दुईमध्ये एकजना राजकीय जिम्मेवारीमा पर्ने सम्भावना भइरहन्छ ।

नेपालमा धेरै राजनीतिक दलका नेता दम्पत्ती सांसद छन् । तर दुवैजना मन्त्री बन्ने संयोग भने कमै मिल्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्का दुई सदस्यको परिवारमा भने श्रीमान-श्रीमती नै मन्त्री बन्ने भाग्य जुरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ संघीय सरकारमा दोस्रो पटक मन्त्री बनेर कमब्याक हुँदा सबैभन्दाद बढी बजेट भएको स्वास्थ्य मन्त्राय पाए ।

तामाङ परिवारमा यसपटक मन्त्रीको योग नै जुरेको रहेछ । केही महिनाअघि मात्र पत्नी उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्री बनेकी थिइन् । अब दुवै जना संघ र प्रदेशको मन्त्री बनेका छन् ।

त्यस्तै संघीय सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री बन्ने मौका पाएका जसपाका नेता अनिल झाको परिवारमा पनि दम्पत्ती नै मन्त्री हुने संयोग जुरेको छ । उनकी पत्नी डिम्पलकुमारी झा प्रदेश २ को भौतिक पुर्वाधार राज्यमन्त्री छिन् ।

श्रीमान-श्रीमती पालो गरेर मन्त्री बन्ने शौभाग्य चाहिँ विरलै मिल्छ, जुन मौका रघुवीर महासेठ र जुलीकुमारी महतोको जीवनमा मिलेको छ ।

महासेठ ओली नेतृत्वको सरकार गठन हुँदा भौतिक पुर्वाधार मन्त्री थिए । उनी पहिलो पुनर्गठनमा बाहिरिएपछि पत्नी जुली महिला बालबालिका मन्त्री बनेर आइन् । यसपटकको पुनर्गठनमा जुली बाहिरिइन् भने रघुवीर उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेर फर्किएका छन् ।

महतोले नेपाल प्रेससँग कुरा गर्दै आफूलाई प्रधानमन्त्रीले मन्त्रीमा निरन्तरता दिने कुरा गरेको भए पनि आफैं हट्न चाहेको बताइन् । श्रीमान-श्रीमती नै मन्त्री बन्नु उपयुक्त नदेखेको उनको संकेत छ ।

उनले भनिन्, ‘मलाई प्रधानमन्त्रीले तपाईं दोहोरिनुपर्छ भन्नुभएको थियो, तर म आफैंले नबस्ने भेनेको हो ।’

श्रीमान-श्रीमती नै नबसौं भन्ने लागेको हो ? भन्ने प्रश्नमा उनले लामो हाँसोपछि जवाफ दिइन्, ‘त्यो कुरा त तपाईंहरु बुझिहाल्नुहुन्छ नि, मैले के भन्नु पर्‍यो र । तर, एकै घरका दुई-तीन जनाले राजनीति गर्दा गाह्रो हुने अनुभव उनले सुनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर