सिद्धार्थ अस्पतालमा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु – Nepal Press

सिद्धार्थ अस्पतालमा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु

रुपन्देही । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आइसीयू तथा १० एचडीयू र १० जनरल (कोभिड आइसोलेसन) समेत गरी २५ बेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो ।

आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै बुटवल उद्योग वाणिज्य संघ र आम्दाको बीचमा आइसीयु सञ्चालनको लागि दुई पक्षिय सम्झौता भएको थियो । सोहीअनुसार संघले दुई आइसोलेसनसहित आइसीयूका ५ बेड सहयोग गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड–१९ आइसीयु वार्डको शुभारम्भ गर्दै अस्पतालको स्रोत व्यवस्थित गरी आगामी दिनमा अझ व्यवस्थित गर्न निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको बताए ।

आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले सबैको समन्वयमा मात्र कोभिड महामारी कम गर्न सकिने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन भनेर संघले जति सकिन्छ भेन्टिलेटरसहित आइसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको बताए ।

सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनको लागि उद्योग वाणिज्य संघलाई धन्यवाद दिँदै अस्पतालले बुधबारदेखि नै निःशुल्क यातायातको व्यवस्था गरेको बताए । प्रदेश सरकारले यसअघि नै आम्दालाई कोरोना संक्रमितको उपचारका लागि जिम्मेवारी तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *