फ्रेन्च लिग जितेको २ दिनपछि लिलीका प्रशिक्षकले राजीनामा दिए
एजेन्सी । फ्रान्सको शीर्ष डिभिजन लिग वानको उपाधि लिलीलाई दिलाएका प्रशिक्षक क्रिष्टोफ गाल्टेरले जिम्मेबारीबाट बाहिरिने निर्णय गरेका छन् ।
आइतबार ८ वर्षदेखिको च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई १ अंकले पछि पार्दै लिलीलाई एक दशकको अन्तरमा पहिलोपल्ट लिग जिताउँदा ५४ वर्षीय यी प्रशिक्षकको योगदान अतुलनीय थियो । लिलीले अहिलेसम्म चारपल्ट फ्रेन्च लिगको उपाधि जितेको हो ।
सिजनको मध्यदेखि नयाँ मालिकले स्वामित्व लिएपछि नै उनले क्लब छाड्न सक्ने अनुमान गरिएको थियो । ‘मलाई के लाग्न थाल्यो भने अब यहाँ मेरो समय सकियो,’ गाल्टेरले भनेका छन् । उनले आफ्नो दिनचार्य परिवर्तन गर्नका लागि पनि जिम्मेबारी विहीन हुन लागेको बताएका छन् ।
उनको यो अभिव्यक्तिपछि लिलीले पनि प्रशिक्षकको निर्णय स्वीकार गरेको छ ।
उपाधि जितेको खुसियालीमा आफ्ना समर्थकसँग मंगलबारको परेड सम्पन्न भएपछि प्रशिक्षकको यो निर्णय सार्वजनिक भएको हो ।
मार्सेलो बेल्सालाई प्रतिस्पथापन गर्दै सन् २०१७ को डिसेम्बरमा गाल्टेरले क्लब संहाल्दा टिम रेलिगेसन नजिक थियो ।
यस्तो अवस्थाबाट टिम संहालेका उनले पछिल्लो दुई सिजन लिलीलाई दोस्रो र चौथो स्थानमा पु¥याएका थिए । गाल्टेर लिग वान क्लबहरु निस वा ल्योनमा आबद्ध हुनसक्ने समाचार आइरहेका छन् ।