एनएसएलको फाइनल प्रवेशका लागि आज काठमाडौं र ललितपुर भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भ्याली डर्बी अर्थात् काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी आमने सामने हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुने खेलको विजेताले शनिबार धनगढी एफसीसँग फाइनल खेल खेल्नेछ ।
काठमाडौं पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएर दोस्रोपल्ट अवसर पाएको टोली हो । ललितपुरले भने हिजो इलिमिनेटर चरणमा बुलवल लुम्बिनी एफसीलाई १-० ले हराएर काठमाडौंसँगको खेल तय भएको हो ।
यी दुईबीच प्रतियोगिताकै पहिलो खेलमा प्रतिस्पर्धा भएकोमा काठमाडौं १-० ले विजयी भएको थियो । लिग चरणमा चार खेलसम्म जितबिहीन ललितपुरले अन्तिम खेलपछि मात्र प्लेअफको टुंगो लागेको थियो । काठमाडौं भने एक खेल अगावै प्लेअफ पुगेको थियो भने लिगमा सर्बाधिक १३ अंकसमेत जोडेको थियो ।
२४ घण्टाभन्दा कम समयमा दुई खेल खेल्नुपर्ने अवस्थामा ललितपुरका लागि आजको खेल चुनौतिपूर्ण हुन सक्छ । काठमाडांैले भने करिव ४८ घण्टाको आराम समय पाएको छ ।
नेपालमै पहिलोपल्ट अक्नसमा आधारित फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधि विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।