त्रिकोणात्मक सिरिजको फाइनल आज, त्रिवि मैदानमा हुन सक्छ रनवर्षा – Nepal Press

त्रिकोणात्मक सिरिजको फाइनल आज, त्रिवि मैदानमा हुन सक्छ रनवर्षा

काठमाडौं । ट्राइ नेसन्स टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउसो १ः१५ मा सुरु हुने फाइनल खेल दर्शकविहिन हुनेछ ।

उत्कृष्ट फर्ममा रहेको नेपाल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै उपाधि उचाल्न आतुर छ । यसअघि समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले एक–एक म्याचमा एक–अर्कालाई हराएका थिए । तर, अंक तालिकामा नेपाल शीर्ष स्थानमा थियो ।

प्रतियोगिताभरि नेपालको ब्याटिङ उत्कृष्ट लयमा छ । नेदरल्यान्ड्सको ब्याटिङ पनि कमजोर छैन । यदि पिचको व्यवाहार परिवर्तन भएन भने आजको म्याचमा दुवैतर्फबाट रनको वर्षा हुन सक्छ । दुवै टिमले एक–अर्काेलाई कमजोर आँक्न सक्ने अवस्था छैन ।

यसअघि नेपाल र नेदरल्यान्ड्सले ८ वटा टि–२० म्याच खेलेका छन् । त्यसमा नेदरल्यान्ड्सले ४ र नेपालले तीन म्याचमा जित हासिल गरेको छ भने एउटा म्याच वर्षाका कारण अनिर्णित टुंगिएको थियो । अहिलेसम्मको हेड टु हेडमा नेदरल्यान्ड्स अगाडि भए पनि जारी प्रतियोगितामा भने नेपाल बलियो देखिएको छ ।

नेपाले खेलेका चार म्याचमा ओपनरहरुले महत्वपूर्ण योगदान दिएका छन् । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ सेखले आज पनि बलियो साझेदारी गरेर ठूलो स्कोरका लागि आधारशीला बनाउने आशा नेपालको छ । नेपालको मध्येक्रम पनि शशक्त छ । कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, करण केसी राम्रो लयमा देखिएका छन् ।

बलिङतर्फ भने नेपाल सन्दिप लामिछाने र सोमपाल कामीमा बढी निर्भर छ । सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर हुन् । उनले अहिलेसम्म ११ विकेट लिएका छन् । अर्कोतर्फ सोमपालले किफायति बलिङ गरिरहेका छन् । उनको नाममा पाँच विकेट छ ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाडउड तथा मध्यक्रमका बेन कुपर र बास डी लिडले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
बलिङतर्फ भने प्रतियोगितामा नेदरल्यान्ड्सले कमजोर प्रदर्शन गरिरहेको छ । थोमस ब्राटले टिमका लागि सर्वाधिक चार विकेट लिएका छन् ।

त्रिविको पिचले बलरहरुलाई खासै सहयोग गरेको छैन । त्यसैले दुवै टिमको ब्याटिङले नै जित–हारको निधो गर्न सक्छ । नेपालले उपाधि जितेमा नयाँ प्रशिक्षक डेव वाटमोरको सुखद सुरुवात हुनेछ । उनको प्रशिक्षणमा नेपालले खेलेको यो पहिलो प्रतियोगिता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर