भारतमा कोभिड-१९ बाट २४ घण्टामा २ हजारभन्दा बढीको मृत्यु – Nepal Press

भारतमा कोभिड-१९ बाट २४ घण्टामा २ हजारभन्दा बढीको मृत्यु

दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।

बुधबार एक दिनमा भारतमा २ लाख ९५ हजारमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा ३ लाखभन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

सोही अवधीमा कोरोनाबाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार देशवासीको नाममा गर्नु भएको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड-१९ सँग लडाई गरिरहेका बताएका छन् ।

केही साता अगाडीसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताउनु भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड १ लाख १९ हजार ३१० व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *