आठ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो, डब्लूएचओको अनुमतिपछि मात्र प्रयोगमा आउने – Nepal Press

आठ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो, डब्लूएचओको अनुमतिपछि मात्र प्रयोगमा आउने

काठमाडौं । चीन सरकारले सहुलियतमा उपलब्ध गराएको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएकाे खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ ।

चीनले दिएको यो खोप चारलाख जनालाई लगाउन पुग्नेछ । चीनको सिनोभ्याक बायोकेटले उत्पादन गरेको उक्त खोपलाई अक्सफोर्ड अस्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्डजस्तै २ देखि ८ डिग्री सेल्सियम तापक्रममा भण्डारण गर्न सकिनेछ ।

यो खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने जनाइएको छ । विभिन्न परिक्षणमा चिनियाँ खोप कोभिसिल्डभन्दा बढी प्रभावकारी देखिएको छ । यो खोप किन्दा कोभिसिल्ड भन्दा महंगो पर्ने जनाइएको छ ।

अहिले नेपालमा साढे पाँच लाख मात्रा खोप बाँकी छ । यो खोप बैशाख ७ गतेदेखि पहिलो डोज लगाइसकेकालाई दोस्रो डोज दिन प्रयोग गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *