पर्यटक पर्खिरहेको लुक्ला – Nepal Press
पर्यटक पर्खिरहेको लुक्ला
फोटो फिचर
नेपाल प्रेस २०७७ माघ १७ गते १२:१२
२०७७ माघ १७ गते १२:१२

लुक्ला । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’जानेको लर्को लाग्थ्यो । बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्याे । तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ ।

लुक्लामा वर्षको दुईपटक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । फागुन–वैशाख रभदौ–कात्तिकतिर होटलमा बास पाउनै मुस्किल पर्थ्याे । पर्यटकहरू होटल‘बुक’गरेरै आउने गर्थे । तर कोरोना महामारीका कारण यो पटक मुख्य पर्यटकीय क्षेत्र लुक्ला सुनसान छ । यहाँ कुनैपनि विदेशी पर्यटक भेटिन गाह्रो छ ।

लुक्लामा साना ठूला गरी ५० होटल छन् । यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन् । पर्यटक नआउँदा उनीकर्मामा परेका छन् । लुक्ला हुँदै नाम्चे, खुम्बु क्षेत्र र सगरमाथा आधार शिविरसम्मको ‘ट्रेकिङ रुट’ मा अहिले विदेशी पर्यटक भेटिँदैनन् । लुक्लामा ४० वर्षपछि यसरी पर्यटको खडेरी लागेको हो ।

नर्थफेस रिसोर्ट लुक्लाका सञ्चालक आङदावा शेर्पाले कोरोना महामारीका कारण सुनसान बनेको लुक्लाको पर्यटन अहिले पनि लयमा फर्कन नसकेकोमा चिन्ता व्यक्त गरे । हवाइजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, तेङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्छन् ।

सरकारले बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै यो क्षेत्रमा पर्यटक घटेको होटल व्यवसायीहरू बताउँछन् । मार्च र अप्रिलमा ५० भन्दा बढी विदेशी समूहले होटलका लागि गरेका बुकिङ रद्द भरेका थिए । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको सिजनमा त कुनै बुकिङ नै भएन ।

होटल बुकिङ गर्ने एउटा समूहमा कम्तीमा ६ जना र बढीमा २० जनासम्म हुने गरेका थिए । नेपालको डोमेस्टिक विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामै छ । ५ असोजमा आन्तरिक उडान खुलेपछि बल्ल फाट्टफुट्ट हवाइजहाज आउन थालेका छन् ।

सामान्य अवस्थामा दैनिक १०० हाराहारीमा उडान र अवतरण हुने यो विमास्थलमा अहिले दैनिक ५ देखि ६ वटाको हाराहारीमा मात्र उडान हुने गरेको छ । आन्तरिक र बाह्य पर्यटक लुक्ला नभित्रिएका कारण उडान कम भएको हिलारी विमानस्थल लुक्लाका निमित्त प्रमुख ज्योति प्रकाश शाहले बताए ।

शाहका अनुसार काठमाण्डौबाट विभिन्न कम्पनीका विमानले नियमति उडान गर्ने गरेका थिए । त्यस्तै निजी हेलिकेप्टरले समेत लुक्लामा उडान भर्ने गरेको थिए ।

गत वर्ष ३१ हजार विदेशी पर्यटक भित्रिएको लुक्लामा चालु आर्थिक वर्षको ६ महिनामा ३ सय ५१ जनामात्रै पुगेका छन् । खुम्बुपासाङल्हामु गाउँपालिका प्रमुख प्रशासकीय सुजनकुमार बुढाथोकीले कोरोना महामारीका कारण ‘एभरेष्ट ट्रेल’ जाने पर्यटकको सख्यामा निकै कमी आएको बताए ।

सगरमाथा क्षेत्रका लागि प्रवेश गर्न एकजना विदेशी पर्यटकले गाउँपालिकालाई २ हजार रुपैयाँ पर्यटन शुल्क बुझाउनु पर्छ ।