बीसवर्षपछि एल्बममा टीमअप गर्दै ‘आस्था’ ब्यान्ड, फिल्म छायांकन भने बीचमै अनिश्चित – Nepal Press

बीसवर्षपछि एल्बममा टीमअप गर्दै ‘आस्था’ ब्यान्ड, फिल्म छायांकन भने बीचमै अनिश्चित

काठमाडौं । नेपालको चर्चित पप ब्यान्ड ‘आस्था’बारे दुई नयाँ खबर छ – ब्यान्डका दुई ठूला नाम नरेन लिम्बु र सुदीप गुरुङ झन्डै बीसवर्षपछि टीमअप गर्दैछन् नयाँ एल्बमका लागि । दोस्रो –नरेनको निर्माण एवं निर्देशन रहेको फिल्म ‘आस्था’को छायांकन ८० प्रतिशत सकिएपछि अनिश्चित बनेको छ ।

पहिलो कुरा बीसवर्षपछि हुने सम्भावित सहकार्यबारे चर्चा गरौं । नेपाल प्रेससँग कुरा गर्दै नरेनले आफ्ना प्रिय ब्यान्ड मेम्बर सुदीपसँग एक नयाँ एल्बमका लागि सहकार्य गर्ने बताएका छन् । ‘लकडाउनअघि नै मिलेर नयाँ एल्बम निकाल्ने तयारी थियो’ उनले भने, ‘तर, लकडाउनपछि त्यो योजना रोकियो ।’ उनका अनुसार यो चर्चित सहकार्यलाई उनी निरन्तरता दिन चाहन्छन् ।

सन् २००२ मा रिलिज भएको आस्था एल्बममा समेटिएको ‘हरपल’ गीत नेपाली चार्टबस्टरमा हिट भएको थियो । यसले नेपाली पप जनरामा एउटा रेकर्ड नै राख्यो । धरानबाट काठमाडौं आइपुगेका यी दुई ठिटाले नेपाली पप संगीतमा बेग्लै खालको स्वाद बसाले । अब भने बेलायतमा बस्दै आएका गुरुङ र काठमाडौंमा बसेका लिम्बुबीच नयाँ एल्बमका लागि टीमअप हुनेछ ।

सुदीप गुरुङ (बायाँ) र नरेन लिम्बु (दायाँ) । माथिल्लो तस्विरमा कुसुम गुरुङ र नरेन लिम्बु फिल्म आस्था छायांकनको सेटबाट । 

यसैबीच, ८० प्रतिशत छायांकन सकिएको फिल्म आस्थाको भविष्य अनिश्चित बनेको छ । नरेनका अनुसार यो सांगीतिक ड्रामा अब कहिले बन्छ भन्नेबारे यकिन छैन । ‘केही समस्याले गर्दा रोकिएको छ, यसको भविष्यबारे सोच बनाउँदैछु । अहिलेलाई रोकिएको मान्नूस’ नरेनले नेपाल प्रेससँग भने । नरेन हिजोआज केही म्युजिक भिडियोमा व्यस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *