राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने व्यक्ति पक्राउ गर्न प्रहरी खटियो – Nepal Press

राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने व्यक्ति पक्राउ गर्न प्रहरी खटियो

दार्चुलाका पूर्व माओवादी नेता नरबहादुर विष्टलाइ प्रहरीले खोज्दै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलबार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ ।

प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए ।

बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए ।

उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ । पार्टीले तय गरेको भन्दा बाहिर गएर नारा लगाएको भन्दै प्रचण्ड-माधव पक्षले सो नारामा आफ्नो सहमति नरहेको जनाएको छ ।

ती व्यक्तिहरुले ‘विद्या तिम्रो सिन्दूर खोई…तिम्रो पोइ’ जस्ता आपत्तिजनक नारा लगाएको भिडियो हेरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारीलगायत नेकपा सम्बद्ध महिला संघले ती व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर